दमौली । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्ववियु निर्वाचनका विषयमा विवाद हुँदा गरिएको तालाबन्दी खोल्न नेविसंघ र अखिल क्रान्तिकारीले माग गरेका छन् ।
नेविसंघ र अखिल क्रान्तिकारी क्याम्पस इकाइले निर्वाचन प्रबन्ध समिति र क्याम्पस प्रमुखको कार्यकक्षमा गरिएको तालाबन्दी खोलेर चुनावको वातावरण बनाउन क्याम्पस सञ्चालक समितिसमक्ष माग गरेको हो ।
स्ववियु सभापतिका उम्मेदवार गौरव पन्थ र सुनिल मिश्र उपर परेको उजुरी उपर सुनुवाई नभएको भन्दै नेत्रविक्रम चन्द, मोहन वैद्य निकट अखिल क्रान्तिकारी र नेकपा एस निकट अनेरास्ववियुले तालाबन्दी गरेका थिए ।
मंगलबार क्याम्पसमा नाराबाजी गर्दै अखिल क्रान्तिकारी क्याम्पस इकाई अध्यक्ष निर्दोष भट्टराईले सहमतिमै ताला नखोलिए प्रतिकार गरिने बताएका छन्। स्ववियु सभापति उम्मेदवार पन्थले आफूहरुको विजय सुनिश्चित भएकाले अनावश्यक भ्रम फैलाउने काम भएको बताए ।