तनहुँ-१ मा वैशाख १० गते उपनिर्वाचन गर्ने आयोगको निर्णय, चैत २० गते उम्मेदवारी दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ-१ मा वैशाख १० गते उपनिर्वाचन गर्ने आयोगको निर्णय, चैत २० गते उम्मेदवारी दर्ता

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०७९, सोमबार

    दमौली । तनहुँ क्षेत्र नम्बर १ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको साेमबार बसेको बैठकले तनहुँ–१ को रिक्त रहेको प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

    उक्त निर्वाचन प्रयोजनका लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरुलाई चैत ८ गतेदेखि १२ गतेसम्म नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम दल दर्ता गर्ने समय उपलब्ध गराउने निर्णय गरेको आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

    तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्र रिक्त भएको छ ।

    उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ताकाे कार्यक्रम रहेकाे छ । चैत १८ गते निर्वाचन अधिकृतकाे कार्यालय स्थापना हुनेछ । चैत २३ गते उम्मेदवारकाे अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

    रिक्त हुने प्रतिनिधिसभा सदस्य पदमा नेपालको संविधानको धारा ८४ को उपदफा (७) बमोजिम प्रतिनिधिसभा कार्यकाल छ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो सोही प्रक्रियाबाट पूर्ति गरिने व्यवस्था रहेको छ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । यस अनलाइनमा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।