दमौली । वैशाख १० गते हुने निर्वाचन अन्तर्गत तनहुँ-१ मा त्रिपक्षीय भीडन्त हुने निश्चित भएको छ । तनहुँ-१ का सांसद रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि हुन लागेको उपनिर्वाचनमा यसपटक रोचक प्रतिस्पर्धा हुन लागेको हो ।
तीन ठूला पार्टीबाट चर्चित उम्मेदवार हुने भएपछि यो क्षेत्र उपनिर्वाचनकै केन्द्रविन्दुमा रहने भएको छ।
नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार बन्ने निश्चित भएको छ । नेकपा एमालेबाट पूर्व आइजिपी सर्वेन्द्र खनाल सहित ६ को सिफारिस भएको छ । त्यसमध्ये पूर्व आइजिपी खनालले टिकट पाउने लगभग निश्चित छ ।
राष्ट्रिय स्वतन्र पार्टीबाट अर्थविद् डा. स्वर्णिम वाग्ले उम्मेदवार बन्ने भएका छन् । बिहीबार मात्रै वाग्लेले कांग्रेस परित्याग गरिसकेका छन् । वाग्ले तनहुँमा उम्मेदवार बन्ने खबर बाहिरिएसँगै तरंग आएको थियो ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा रामचन्द्र पौडेल नेकपा माओवादी, नेकपा एस लगायतको गठबन्धनबाट विजयी भएका थिए । उनले २५ हजार तीन सय १८ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार ९ सय ४३ मत ल्याएका थिए ।
यहाँ स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८ सय ७८ मत ल्याएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ३२ मत प्राप्त गरेका थिए ।
बिना संगठन उम्मेदवार उठाउँदा पनि राम्रो मत ल्याएको रास्वपा यतिबेला सबै वडामा संगठन विस्तारमा छ । पार्टीमा बढ्दो लोकप्रियता र चर्चित व्यक्तिलाई उम्मेदवार बनाउँदा विजयी सुनिश्चित हुने रास्वपा नेता बताउँछन् ।
काग्रेस-माओवादी-समाजवादीको गठबन्धन हुँदा पनि धेरै मतान्तर नरहेको हुँदा यसपटक जित हासिल गर्नेमा नेकपा एमाले विश्वस्त छ । त्यतिबेला माओवादीको पनि उम्मेदवार हुँदा माओवादीका सबै नेता गठबन्धनलाई जिताउन खटिएका थिए । तर अहिले माओवादी उम्मेदवार नहुँदा मसिर ४ कै जसरी माओवादी नेता चुनावमा खटिनेछैनन् । यसले गर्दा गठबन्धनको सबै भोट कांग्रेस उम्मेदवारले पाउँछन् भन्नेमा द्विविधा रहेको माओवादीका प्रदेश स्तरीय एक नेताले भने ।
‘त्यतिबेला सबैलाई जित्नपर्ने थियो, हामी पनि त्यही अनुसार खटियौ, अहिले हाम्रो उम्मेदवार नभएपछि उहॉहरुकै लागि मरिमेटेर खट्ने अवस्था छैन,’ उनले भने ।