भत्काउलान् त स्वर्णिमले कांग्रेसको गढ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    भत्काउलान् त स्वर्णिमले कांग्रेसको गढ?

    खबरपुञ्ज संवाददाता

    २२ चैत्र २०७९, बिहीबार

    दमौली । ‘घुम्दैघुम्दै आएका टुरिस्ट उम्मेदवारलाई तपाईंले भन्नुपर्छ- यो पटक तनहुँको निर्वाचन क्षेत्रमा अरू जिल्लाजस्तो होइन, अरू ठाउँजस्तो होइन। यहाँको नेपाली कांग्रेस भनेको चोकमा राखेको मादल होइन जल्ले आयो त्यल्ले बजाउँदै हिँड्ने होइन’, नेपाली कांग्रेस महामन्त्री गगन थापाले स्वर्णिम वाग्लेप्रति कटाक्ष गर्दै भने।

    सोमबार तनहुँ १ मा उपनिर्वाचनको मनोनयन दर्ता अगाडि दमौलीमा कांग्रेसको कोणसभामा गगनले स्वर्णिमविरुद्ध उछित्तो अभिव्यक्ति दिए। मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेसबाट अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिलाउन महान्त्री थापाले दिलोज्यान दिएर लागेको जगजाहेर छ। यतिसम्म कि स्वर्णिमका लागि गगन आफ्नै क्षेत्र छाड्न तयार थिए। तर, स्वर्णिमको भागमा टिकट भने परेन।

    स्वर्णिमले गगनलगायत ४ नेतालाई भावुक सन्देश लेख्दै कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजेका छन्। कांग्रेस छाडेका स्वर्णिमले नेपाली कांग्रेसको गढ मानिने तनहुँ १ मा रास्वपाबाट उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।

    उपनिर्वाचनमा कांग्रेसलाई स्वर्णिमको डर कत्ति छ त भन्ने सोमबारको कोणसभामा महामन्त्री थापाले दिएको अभिव्यक्तिबाट अनुमान लगाउन सकिन्छ। कांग्रेसको असन्तृष्ट पक्षको भोट स्वर्णिमको पक्षमा खस्ने धेरैको अनुमान छ।

    उपनिर्वाचनका लागि चुनावी मैदानमा सत्ता गठबन्धनले कांग्रेसका गोविन्द भट्टराईलाई उतारेको छ। रास्वपाका स्वर्णिम वाग्लेसँगै नेकपा एमालेका पूर्वआइजिपी सर्वेन्द्र खनाल पनि मनोनयन दर्ता गराएर चुनावी मैदानमा होमिएका छन्।

    नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङ, र नागरिक उन्मुक्ति पार्टीबाट भिमबहादुर सुनारले पनि सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन्। तर, भट्टराई, वाग्ले र खनालबीच त्रिपक्षीय रोचक भीडन्त हुने पक्का छ।

    गोविन्द भट्टराईको पक्षमा मंसिर ४ मा रामचन्द्र पौडेललाई खसेको भन्दा धेरै मत खस्ने नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालको दाबी छ। पहिलेको तुलनामा असन्तृष्ट पक्ष कम भएको उनले बताए। ‘पहिले पनि भोट काटिएकै हो। हाम्रो भोट एमालेलाई गयो। ती भोट हामीलाई आउँछ अहिले। घण्टीमा गएको भोट अहिले पनि घण्टीमै हाल्छन्’, उनले भने।

    रामचन्द्रको तुलनामा गोविन्दसँग असन्तृष्ट हुने निकै कम भएको खनाल बताउँछन्। रास्वपाका वाग्ले र एमालेका खनाल पाहुना उम्मेदवार भएकाले जनतामाझ परिचित भट्टराईको जित सुनिश्चित रहेको उनको जिकिर छ।

    रास्वपाले भने कांग्रेसकै भोट काटेर जित निकाल्ने दाबी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ १ क्षेत्रीय संयोजक सूर्यमणि पौडेल कांग्रेसको भोट स्वर्णिमलाइ खस्ने बताउँछन्।

    कांग्रेसको मत सुरक्षित नहुने उनको दाबी छ। ‘कांग्रेसको मत जहिले पनि तलमाथि हुन्छ। त्यो सचेत मत हो। मासबेस मत हो। मास भनेको जहाँ राम्रो छ, त्यहाँ जान्छ नि’, उनको भनाइ छ।

    रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको व्यक्तित्वको कारण पनि मत आउने पौडेलले बताए। ‘तनहुँका मतदाता सचेत मतदाता हुन्। सचेत मतदाताले राम्रो उम्मेदवारलाई भोट हाल्छन्’, उनले भने।

    परिवर्तनप्रति जनताको लगाव गएको चुनावमा पार्टीले पाएको मतले देखाएको उनको भनाइ छ।

    मंसिर ४ मा भएको निर्वाचनमा तनहुँ १ बाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल ५ हजार ३८० मतान्तरले निर्वाचित भएका थिए। पौडेलले २५ हजार ३६१ मत प्राप्त गरेर छैठौँ पटक संसद प्रवेश गरेर पनि राष्ट्रपति बनेका छन्।

    पौडेलका निकटम् प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए। एकबहादुरको यो चौथो हार हो। हालैमात्र कारबाही फुकुवा भएका गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिँदा ६ हजार ८८६ मतसहित तेस्रो भए। रास्वपाका विकास सिग्देलले ६ हजार ४४ र राप्रपाका विनोदकुमार घर्तीले २ हजार ४८४ मत पाएका थिए।

    यसपटक जोशी समूहले उम्मेदवार उठाएको छैन। जोशी समूहको भोट रास्वपाका वाग्लेको पक्षमा खस्दा पनि जित सुनिश्चित हुँदैन। जोशी समूहले कसलाई सघाउने समेत निर्णय गरेको अवस्था छैन।

    जोशी समूहलाई मनाउन कांग्रेस महामन्त्री गगन थापाले गोविन्दराजका छोरा दीपकराज जोशीसँग आइतबार २ घण्टा लामो छलफलसमेत गरे।

    समानुपातिकमा भने राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा भन्दा दोब्बर मत पाएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार ७७३ मत समानुपातिमा पाएको थियो। कांग्रेसले प्रत्यक्षको तुलनामा ५ हजार कम २० हजार १५८ मत प्राप्त गर्‍यो।

    समानुपातिकमा एमालेले १६ हजार ६८३, नेकपा माओवादी केन्द्रले ७ हजार ३२६, राप्रपाले ५ हजार ५७७ र नेकपा एकीकृत समाजवादी पार्टीले ९५० मत पाएका थिए।

    तनहुँ १ मा ०४८, ०५१ र ०५६ मा लगातार नेपाली कांग्रेसका उम्मेदवारले चुनाव जिते। ०६४ को निर्वाचनमा भने नेकपा माओवादी केन्द्रको सुरेशकुमार आले मगर विजयी भए। ०७० मा फेरी कांग्रेसलै जित दर्ता गरायो।

    संघीय पुर्नसंरचनापछि ३ वटा निर्वाचन क्षेत्र रहेको तनहुँमा २ निर्वाचन क्षेत्र कायम भयो । तत्कालिन क्षेत्र नम्बर २ मा पर्ने हालको व्यास नगरपालिकाको १२ वटा वडा र देवघाट गाउँपालिकाको छिपछिपे, बैडी र कोटा १ मा गाभियो।

    तीनवटा क्षेत्र हुँदा तनहुँ २ मा ०४८ देखि ०७० सम्म निरन्तर नेपाली कांग्रेसले जितिरह्यो। त्यतिबेलाको क्षेत्र नम्बर ३ पुरै र २ मा पर्ने हालको म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिका मिसाएर क्षेत्र नम्बर २ कायम भएको छ।

    ०७४ मा तनहुँ १ मा तत्कालीन नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) ले रामचन्द्र पौडेललाई पराजित गरेका थिए। त्यो जित नै एमालेको पहिलो थियो। किसान एमाले विभाजन भएपछि नेकपा एकीकृत समाजवादीमा लागेका छन्। यो क्षेत्रमा किसानको पनि प्रभाव रहने भएकाले मनोनयन दर्ता अगावै स्वर्णिम र सर्वेन्द्रले उनलाई भेटेका थिए।