दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा नेपालले चीनबाट अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् । रास्वपा तनहुँको शनिबार दमौलीमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति वाग्लेले चीनमात्रै नभई, भारत, बहुपक्षीय निकायबाट सहयोग लिनुपर्ने बताए।
नेपालमा पूर्वाधारको अभाव खड्किएकाले अनुदान होस् वा ऋण सहयोगी निकायबाट लिनुपर्ने डा. वाग्लेको भनाइ छ । उनले भने, “ऋण चर्को भने हुनुहुँदैन, एक प्रतिशत व्याजको ऋण भए ऋण नै लिएपनि केही फरक पर्दैन । ३०÷४० वर्षमा रकम फिर्ता गर्नुपर्ने प्रकृतिको ऋण भए स्वीकार्य छ ।” केही राजनीतिक दलले चीनबाट ऋण लिनैहुँदैन भन्ने प्रकृतिका अभिव्यक्ति आएकाले त्यस्ता अभिव्यक्ति अपरिपक्व भएको उनकाे भनाइ छ ।
उपसभापति वाग्लेले मिसन २०८४ को तयारीका लागि अहिल्यैदेखि लाग्नुपर्नेमा जोड दिए। वाग्लेले भने, “हाम्रो अर्जुनदृष्टि भनेको मिसन ८४ नै हो । यसको तयारीका लागि वडास्तरबाट काम थाल्नुपर्छ ।”
पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै वाग्लेले रास्वपा सकियो भन्ने हल्ला फैलाइएको बताए। रास्वपा कमजोर नभएको बताउँदै वाग्लेले पार्टी झन् बलियो भएर आउने उल्लेख गरे ।
आसन्न उपनिर्वाचनमा केही ठाउँमा पार्टीका तर्फबाट उम्मेदवारी नउठाइएकामा स्पष्टीकरण दिँदै वाग्लेले पार्टी सभापति लामिछानेलाई पक्राउपछि केही तयारीमा ढिलाइ हुँदा त्यस्तो हुन गएको बताए। उनले भने, “हामीमाथि जनताको ठूलो आशा र भरोसा छ । केही ठाउँमा उम्मेदवारी दिन सकेनौ तर त्यस्ता ठाउँमा राम्रा उम्मेदवारलाई हाम्रो सहयोग रहनेछ ।” उपसभापति वाग्लेले आगामी वैशाखमा पार्टीको महाधिवेशन रहेकाले देशैभर सङ्गठन विस्तारलाई जोड दिइएको बताए।
जिल्लाको विकासका सन्दर्भमा पनि आफू दिनरात लागिपरेको बताउँदै सांसदको काम विकासको नभएपनि जनताको अपेक्षाका कारण सन्तुलित भएर काम गर्नुपर्ने अवस्था रहेको उनकाे भनाइ छ । उनले भने, “सांसदको काम नीति, नियम कानून बनाउने हो । तर जनताले विकासको खबरदारी पनि गर्नुपर्छ । जनताको अपेक्षालाई तुषारापात गर्न मिल्दैन । विकास निर्माणमा समन्वय गरिरहेका छौ ।”