दमाैली । नेपाली काङ्ग्रेस भिमाद नगरसमितिले भिमाद नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको छ । शिक्षा शाखाबाट विभेदपूर्ण तरिकाले कार्यसम्पादन हुँदै आएको आरोप लगाउँदै नगरसमितिले आज शिक्षा शाखामा तालाबन्दी गरेको हो ।
शिक्षा शाखाबाट मनपरी रुपमा एकपक्षीय ढङ्गबाट काम गरिएको र आस्थाको आधारमा शिक्षकलाई दुःख दिने काम गरिएको नगर सभापति अरविन श्रेष्ठले बताए। उनले शाखाले गरेका काम सच्याउन माग गर्दै नगरप्रमुख दधिराज सुवेदीलाई ज्ञापनपत्र बुझाइएको जानकारी दिए।
“नगरपालिकाले दलीय आबद्धतालाई मध्यनजर गरी विभेद गरेको र अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि तालाबन्दी सहित नगरप्रमुखलाई ध्यानाकर्षण गराएका छौ,” श्रेष्ठले भने, “मागहरुको सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौ ।”
नगरसमितिले बुझाएको ज्ञापनपत्रमा निजी स्वार्थ र सङ्गठनमा आबद्धताका आधारमा शिक्षक सरुवा नगर्न, अनावश्यक दुःख नदिन, योग्यता र तहको आधारमा प्रधानाध्यापक नियुक्त गर्न, अस्थायी र करार शिक्षक छनोट प्रक्रिया निष्पक्ष बनाउन, विद्यालयमा विद्यार्थीहरुको चाप र आवश्यक विषयक अनुसारको दरबन्दी व्यवस्था गर्न, नजिकको मान्छेको अस्थायी करार जागिर जोगाउन विषय परिवर्तन गरी सरुवा गराउने विधि नअपनाउन, मावि तहसम्मको अनिवार्य निशुल्क शिक्षाको नीति नियमलाई उल्लङ्घन गरी कतिपय सामुदायिक विद्यालयले विद्यार्थीसँग रकम असुल्दा मौन नरहन माग गरिएको छ ।
शिक्षक सेवा आयोगबाट छनोट भई भिमाद नगरपालिकामा आउनुभएका शिक्षकहरुलाई प्राथमिकताको आधारमा विद्यालयमा नियुक्ति दिनुपर्नेमा सो नगरी सुगम ठाउँका विभिन्न विद्यालयहरुमा दरबन्दी सार्वजनिक नगरी लुकाई मनोमानी तरिकाले सरुवा गर्ने काम बन्द गर्न माग गरिएको छ ।
नगरप्रमुख सुवेदीले ज्ञापनपत्र बुझ्दै मागबारे सम्बोधन हुने बताए।