दमौली । ईस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ भोलि हुने भएको छ । यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् ।
बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने मुसलमान ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो ।
रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।
रमजानामा ब्रत बस्ने शुक्रबार साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुशी हुने र एकआपसमा इदमुबारक बधाई सटासाट गर्ने प्रचलन रहँदै आएको छ । रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ ।
इदुलफित्र मनाउनका लागि आज मुसलमान ‘इदगाह’ वा ‘मस्जिद’मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले बताए । इदुलफित्र मनाउनका लागि मुसलमान आज बिहानैदेखि तयारीमा जुटेका छन् ।–––