दमौली । तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली काङ्ग्रेसका गोविन्द भट्टराईले मतदान गरेका छन् । उम्मेदवार भट्टराईले आइतबार व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।
मतदान गरेपछि भट्टराईले तनहुँका जनताले आफूलाई विजयी गराउनेमा विश्वस्त रहेको बताए । उपनिर्वाचनमा आम मतदाताको उत्साहपूर्ण सहभागिता रहेको बताउँदै उनले निर्वाचन लोकतन्त्रको प्राण रहेको उल्लेख गरे । स्थानीय विकास एजेण्डा, कानून निर्माण लगायत प्रतिनिधिको महत्वपूर्ण जिम्मेवारी रहेकाले निर्वाचित भए आफ्नो मुख्य ध्यान त्यसमा रहने बताए । उनले आम मतदाताको सद्भाव र हौसलाले निर्वाचन जित्नेमा ढुक्क रहेको दावी गरे ।
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको यो क्षेत्रमा आज उपनिर्वाचन भइरहेको छ । जिल्लामा शान्तिपूर्ण रुपमा मतदान कार्य चलिरहेको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।