कहाँ हरायो तनहुँ १ मा एमालेको साढे ११ हजार मत?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    कहाँ हरायो तनहुँ १ मा एमालेको साढे ११ हजार मत?

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०८०, मंगलवार

    दमाैली । मंसिर ४ को निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ १ मा चौथो शक्तिमा सीमित थियो। ५ महिनापछि शनिबार भएको उपनिर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गराएको छ। त्यो पनि फराकिलो मतान्तरले।

    न लामो इतिहास, न त बलियो संगठन, र पनि मुलधारका दललाई राष्ट्रिय स्वतन्त्र पार्टीले संकटको घण्टी बजाइदिएको छ। त्यसमा पनि एमालेभित्र त खैलाबैला मच्चाउने गरेर भोट ‘ट्रान्सफर’ भएको छ।

    मंगलबार बिहान सार्वजनिक उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले १४ हजार ७९७ मतान्तरले निर्वाचित भएका हुन्। स्वर्णिमको पक्षमा ३४ हजार ९१९ मत खसेको छ।

    १ लाख २३ हजार ३०५ मतदाता रहेको यो क्षेत्रमा ६३ हजार ७५७ मत खसेको थियो। कुल मतमध्ये वाग्लेको पक्षमा ५४.७६ प्रतिशत मत खसेको हो। मतपरिणामले स्वर्णिम एकातर्फ र अरु ८ उम्मेदवार अर्कोतर्फ हुँदासमेत जित उनकै पक्षमा देखाएको छ।

    नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई ३१.५६ प्रतिशत जनताले मत प्रकट गरेका हुन्।

    जबकि गोविन्दलाई जिताउन प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसँगै कांग्रेसका केन्द्रीय नेताको दिनहुँ लर्को थियो। महामन्त्री गगन थापा त मनोनयन दर्तादेखि प्रचारप्रसारको अन्तिम दिनसम्म स्वर्णिमलाई हराउन गोविन्दको पक्षमा निरन्तर लागेको देखिन्थ्यो। परिणाम जनताको हातमा भएपछि कस्को के लाग्छ र!

    मनोनयनको दुई दिनअगाडि मात्रै कांग्रेस छाडेका राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्लेले कांग्रेसको रजगजलाई भत्काइदिए। नेकपा एमालेलाई त नराम्ररी पछारे।

    एमालेका सर्वेन्द्र खनालले जम्मा ८ हजार ४८८ अर्थात् १३.३१ मत पाए। चुनावी मैदानमा रहेका अरु ६ उम्मेदवारले कुल ६०६ मत पाए। उनीहरु सबैको जमानतसमेत जोगिन सकेन।

    राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै मत नेकपा एमालेको काटेको छ। मंसिर ४ को मत र वैशाख १० मा खसेको मतको हिसाब गर्दा एमाले कमजोर तेस्रो पार्टी बनेको छ।

    मंसिरको निर्वाचनमा तनहुँ १ का १ लाख २३ हजार ४९० मतदातामध्य ६६ हजार २९६ अर्थात ५३.६८ प्रतिशत मत खसेको थियो। नेपाली कांग्रेसका रामचन्द्रको पक्षमा २५ हजार ३६१ जनमत पर्‍यो। आम निर्वाचनमा भन्दा अहिलेको उपनिर्वाचनमा २ हजार ५३९ मत कम खसेको छ। दुई निर्वाचनको तुलना गर्दा कांग्रेसले अहिले ५ हजार २३९ मत गुमाएको देखिन्छ। समानुपातिकमा भने कांग्रेसले २० हजार १५८ मत पाएको थियो।

    यसको कारण, कांग्रेसका नेता कार्यकर्ता स्वर्णिमको पक्षमा लाग्नु र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले इमानदारीपूर्वक मत नखसाल्नु हो। राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्र तनहुँ १ मा कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीलगायत प्रभावशाली नेता भए पनि उपचुनावले उनीहरुको प्रभाव खासै नभएको मतपरिणाले पुष्टि गरेको छ।

    त्यतिबेला दोस्रो भएका नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए। उपनिर्वाचनमा सबैभन्दा ठूलो झड्का व्यहोरेको एमालेले ११ हजार ४९३ मत गुमाएको छ। एमालेमा मत हालिरहेका सबैभन्दा धेरै मतदाता राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ आकर्षित भएको पाइन्छ।

    नेपाली कांग्रेसबाट साधरण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका गोविन्दराज जोशीले ६ हजार ८८६ मत प्राप्त गरेर तेस्रो स्थानमा थिए। उपनिर्वाचनको संघारमा कांग्रेसले उनलाई गरेको कारबाही फुकुवा गरे पनि कांग्रेसको पक्षमा मत मागेनन्। मंसिर ४ मा उनले पाएको मत पनि स्वतन्त्रका वाग्लेलाई गएको मतपरिणामले देखाउँछ।

    मंसिरमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए। ५ महिनाको अन्तरालमा २८ हजार ८७५ मत थप्दै राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले तनहुँबाट उदाएका छन्।

    २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनलाई फर्केर हेर्दा पनि कांग्रेस, माओवादी र एमालेले पाएको मत जोगाउन नसकेकै देखिन्छ।

    नेकपा एमालेका पोलिटब्युरो सदस्य टुकराज सिग्देल आँकलनभन्दा विपरीत मत आएको बताउँछन्। उनका अनुसार स्वर्णिम वाग्ले नेपाली कांग्रेस पृष्ठभूमिका भएकाले उनले कांग्रेसको धेरै मत काट्ने अनुमान थियो।

    ‘यो अपवित्र गठबन्धन कांग्रेस, कम्युनिष्टहरुको नीति सिद्धान्त मिलेको देखिएन। राष्ट्रिय राजनीतिमा देखापरेको गञ्जागोलको परिस्थितिले पनि जुन पार्टीमा लाग्दा पनि खासै फरक पर्दैन भन्ने मनस्थितिले युथहरुमा देखियो’, उनको विश्लेषण छ। युवालाई उत्पादनसँग जोड्ने कार्यक्रममा विगतका सरकारले ध्यान नदिएको कारण लहैलहैमा लागेको उनको भनाइ छ।

    नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले किन मत कम आयो भनेर समीक्षा गर्न बाँकी नै रहेको बताए। ‘अहिलेका आएको ह्मिले गर्दाखेरी मत घटेको छ’, उनले भने। गठबन्धनबीचकै बेमल पनि एउटा कारण भएको उनको भनाइ छ।