तनहुँका जनताले मत परिवर्तन गर्दैनन् भन्ने भ्रम हटाइदिएका छौ : डा. वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका जनताले मत परिवर्तन गर्दैनन् भन्ने भ्रम हटाइदिएका छौ : डा. वाग्ले

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०८०, बुधबार

    दमाैली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले तनहुँका जनताले मत परिवर्तन गर्दैनन् भन्ने भ्रम हटाइदिएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार मुग्लिनमा आयोजना गरेको धन्यवाद सभामा बोल्दै उनले तनहुँका जनता सधैं एउटा पार्टीलाई मात्रै मत हाल्छन् भन्ने भ्रम रहेकामा उपनिर्वाचनबाट त्यो भ्रमबाट मुक्त गराइदिएको बताए ।

    उनले तनहुँमा स्वर्णिम वाग्लेको लज्जास्पद हार हुन्छ भन्नेहरु लुकेर बस्न बाध्य भएको टिप्पणी गरे । तनहुँ क्षेत्र नम्बर १ का पाँचवटै पालिकामा सम्पर्क खोल्ने पूर्व प्रतिबद्धता कार्यान्वयन गर्ने भन्दै सुगम ठाउँमा दुई तीन महिनामा एक पटक र दुर्गम ठाउँमा वर्षमा दुई पटक पुग्ने प्रतिबद्धता जनाए । उनले भने, “पछि कतिपयले ठट्टा गर्लान् स्वर्णिम कति आउन सकेको जिल्ला भनेर ।”

    वाग्लेले तनहुँले यसपटक राजनीतिक सन्देश दिएको बताउँदै एकै धक्कामा ३५ हजार मत ल्याउन सफल भएको बताए । तनहुँको मुद्धा संसदमा उठाउने बताउँदै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्धा पनि आफ्नो प्राथमिकतामा रहने बताए । पैसा बाँडेर चुनाव जितिन्छ भन्ने भ्रम पनि तनहुँबाट आफूहरुले हटाउन सफल भएको उनको भनाई थियो ।

    डा. वाग्लेले राजनीतिलाई मागी खाने भाडो बनाउने प्रवृत्तिको अन्त्य रास्वपाले गर्ने बताए । टिका लगाएर पद पाउने मोडलले राजनीतिलाई भ्रष्ट बनाएको बताउँदै उनले भने, “कुनै ठाउँको टिकट दिनुपर्दा माथिबाट टिका लगाएर पठाइदिने होइन, सम्बन्धित ठाउँका जनताले त्यहीबाट छान्ने हो ।”

    अन्य क्षेत्रमा नाम कमाएर सफल भएकालाई भित्र्याएर बढीमा दुई पटक अवसर दिने परम्परा सुरु गरिने बताउँदै उनले भने, “एउटै मान्छे आजिवन लडिरहने प्रवृत्तिको अन्त्य गरिनेछ । कार्यकर्ताको भद्धा संरचनाले विकृति बढाएको छ । रास्वपा त्यसतर्फ जाँदैन ।”

    विधि, प्रणाली सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले त्यसका लागि रास्वपालाई दुई तिहाई आवश्यक पर्ने बताए ।