दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तनहुँ-१ को उपनिर्वाचन हार्नुमा स्वयं उम्मेदवारको प्रस्तुती, आन्तरिक व्यवस्थापन र गठबन्धन इमानदार नहुनु कारण रहेको बताएका छन् ।
एक टेलिभिजनमा अन्तरवार्ताका क्रममा भण्डारीले तनहुँ-१ मा पॉच दलीय गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको हारको समिक्षा गरेका छन् ।
उनले चुनावी परिणाम अप्रत्यासित भएको समेत बताए । ‘२०७९ मंसिर ४ मा नेकपा एमालेले १९ हजार मत ल्याएको र अहिले उपनिर्वाचनमा ८ हजार मत ल्याएको छ । यसको पनि विश्लेषण गर्नपर्नेछ । आफ्नो उम्मेदवार उठाइसकेपछि जिताउन एमाले लाग्छ भन्ने थियो,’ उनले भने, ‘गठबन्धनमा आबद्ध दलले पनि जति मत खसाल्नुपर्थ्यो, त्यो नभएको आशंका र अनुमान गरिएको छ।’
भण्डारीले आन्तरिक व्यवस्थापन र स्वयं उम्मेदवारको प्रस्तुती पनि चुनाव पराजयको कारण भएको टिप्पणी गरे । उनले भने, ‘उम्मेदवारको प्रस्तुती शसक्त नभएको गुनासो पनि आएको छ । उहॉ युवा नेता हो, त्याग र संघर्ष छ। उहॉ खट्नु पनि भयो ।’
उनले चुनावमा आफूसँग समन्वय नभएको आरोप लगाए । आफू चुनावी कमाण्डर भएपनि केन्द्रबाट नेता आउने क्रममा समन्वय नभएको उनको जिकिर थियो । ‘मसँग सल्लाहै नगरी पदाधिकारीलाई जिम्मा दिएको भन्ने पनि आयो, तालमेल भएन, त्यसमा मेरो पनि केही कमजोरी भयो होला, विस्तृतमा समिक्षा गर्न बॉकी छ ।’