दमाैली । नेपाल पत्रकार महासङ्घले जनप्रतिनिधि, कर्मचारी, दलको विभिन्न कमिटीमा बसेकाहरुको सदस्यता नवीकरण नगर्ने भएको छ । महासङ्घको गत चैत १५ गते सम्पन्न केन्द्रीय समितिको आठौ बैठक तथा चैत १६ गते सम्पन्न राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई प्रभावकारी बनाउने प्रस्ताव पारित गरेको छ ।
सो बमोजिम जनप्रतिनिधि, निजामति स्थायी कर्मचारी (सेना, निजामति, प्रहरी, गुप्तचर, सुरक्षाकर्मी समेत), अस्थायी, करार, सेवा आयोगहरु मार्फतका सरकारी कर्मचारी, मिडिया संस्थान बाहेकका संस्थानमा कार्यरत कर्मचारी, सरकारी कार्यालयमा करार कर्मचारीको हकमा नयाँ सदस्यता पनि नदिने र सदस्य कायम रहेको अवस्थामा नवीकरण नगर्ने प्रस्ताव पारित भएको छ ।
सरकारी तथा गैरसरकारी क्षेत्र, वित्तीय (सहकारी, बैङ्क, फाइनान्स) मा पूर्णकालिन जुनसुकै पेशामा आबद्ध भएको वा मुख्य पेशा, व्यवसाय अन्य बनाएर कहिलेकाँहीमात्रै पत्रकारिताा गर्नेको हकमा पनि नयाँ सदस्यता प्रदान नगर्ने तथा नवीकरण नगर्ने नीति पारित गरिएको छ ।
मिडिया हाउसको व्यवस्थापक, बजार प्रतिनिधि, प्रशासनमा काम गर्नेहरुको हकमा सदस्यता नवीकरण नगर्ने र नयाँ सदस्यता पनि नदिने नीति पूर्ण रुपमा लागु गरिने जनाइएको छ ।