पोखरा। नेता भोट माग्नलाई झुकेर जनताको घरदैलो चाहार्छ । जनताले मत प्रकट गरेपछि उ अग्रस्थानमा हुन्छ । शासक बनेपछि कुर्चीको माथिपट्टि उभिन्छ । उसैको इशारामा सब चल्न थाल्छन् ।
हद नाघ्न थालेपछि जनता विस्तारै २ धारमा विभाजित हुन्छन् । एकाथरि नेताले जसो गरेपनि समर्थन गर्ने, अर्कोथरीले राम्रो काम गरेन भनेर शासकको कमीकमजोरी खोतल्न थाले । जब जनता एक भएर शासकको कमजोरी खोतल्न थाले तब कुर्चीमा पनि उभिएको शासक गल्र्यामगुर्लुम ढल्यो ।
शनिबार पोखराको पृथ्वीचोकमा देखाइएको नाटकको दृश्य हो, यो । भ्रष्टाचार ढाकछोप विरुद्धको नागरिक आन्दोलनमा पोखरा थिएटरका कलाकारले संवादविनाको नाटक नेताको चरित्र र कसरी जनताले शासकलाई ढलाउछन् भन्ने देखाए । नाकटमा शासकको भूमिकामा थिए, रमेशबाबु तिम्लिसिना ।
नाटक प्रर्दशनपछि तिम्लिसीनाले भने, ‘सुरुमा नेतालाई चियरमा अप गरेर देखाइयो । पछि उ ढल्यो पुरै डाउन गरेर देखाइयो । यदि जनता जागरुक भए भने साँच्चै कसैले केही गर्न सक्दैन् । यि नेता जो जो भनेपनि जनता एकजुट हुने हो भने भ्रष्टाचार निर्मुल गर्न सक्छन् भन्ने सन्देश हो ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई राजनीतिक संरक्षण हुन नदिन र दोषीलाई कारबाही गर्न नागरिकस्तरबाट खबरदारी गर्न शनिबार पोखरामा प्रदर्शन भएको हो । शनिबार विहान ११ बजेपछि करिब डेढ घण्टा पोखरेलीले नागरिकस्तरबाट पृथ्वीचोेकमा उभिएर खबरदारी गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृह सचिव टेकनारायण पाण्डे, पूर्र्वगृृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द«जीत राई लगायत १२ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएपछि पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार छन् ।
‘टोपबहादुर हो कि टापबहादुर’, ‘करोडौं पर्ने बंगला तिमीलाई कसले किन्दियो’, ‘जो अर्वौ पैसा पचाउँछ, राज्यले त्यसैलाई बचाउँछ’, ‘मन्त्री सोचेको तस्कर र बिचौलिया पो परेछ’, ‘देशमा अर्थतन्त्र मन्द छ, नेताहरुको भ्रष्टाचार धन्दा छ’, व्यंग्यात्मक शैलीका प्लेकार्ड प्रदर्शन गरे ।
‘भन्छौं हामी बारम्बार, भ्रष्टचारीलाई कारागार’, ‘सरकार, ठुला माछा पकडी लगा छिटो हत्कडी’, ‘नेताहरुको घडीमा तस्करको ब्याट्री छ’, केहीबेर नारा चर्काए ।
भ्रष्टाचार ढाकछोप विरुद्धको नागरिक आन्दोलनमा कवि सुरज उपाध्यायले सुनाए :
बा भन्नुहुन्छ
मलाई थाहा छ नेपालीलाई भुटानी कसरी बनाइयो
तर म भन्दिन
४ गतेपनि भन्दिन
ज्यान जाला भन्दिन
अँह भन्दै भन्दिन
यदि मैले भने भने
टोपबहादुर भन्दा ठूलो भ्रष्टाचारीमा मेरो नाम दर्ज हुनेछ
थाहा छ नि मैले भ्रष्टचार गर्दिन
त्यसैले मैले भन्दै भन्दिन
कवि बाबु साहेबले वेतिथिविरुद्ध आवाज बुलन्द पार्न कविताबाटै आग्रह गरे ।
‘आवाजहरु ओ आवाजहरु ,
अनुहारको कुन तप्का भित्र बसिरहेछौ ?
बाहिर निस्क ओ आवाजहरु…’
रंगकर्मी परिवर्तनले मुक्तकबाट चोटिलो प्रहार गरेः
‘मैले फुटेकालाई जुट भनेको थिएँ ।
बग्ने नै छ नदी अटूट भनेको थिएँ ।
त्यही कारणले मेरो हातमा हत्कडी लगाइयो,
मैले सुतेकालाई उठ भनेको थिएँ ।’
वरिष्ठ रंगकर्मी अनुप बरालले पनि भ्रष्टाचार ढाकछोप विरुद्धको नागरिक आन्दोलनमा ऐक्यवद्धता जनाए । बरालले नेपालीलाई भुटानी शरणार्थी बनाउन गरिएको दुष्प्रयासलाई संगिन अपराधको संज्ञा दिए ।
‘त्यसलाई त अझ राष्ट्रको नेतृत्वमा बसेका ठूला पद ओगटेका उनीहरुले नै ढाकछोप गर्ने प्रयत्न गरे । हाम्रो देशमा भ्रष्टाचारको जरो कति गहिरो र नमिठो तरिकाले संयन्त्रहरुमा गढेको छ पोष्टमार्टमा गरेको छ’, उनले भने ।
भ्रष्टचारको असर बढ्दै जाँदा नेपाल अपराधिक संगठनहरुको अपराधिक थलो बन्नेमा उनले चिन्ता जनाए । उनले भने, ‘हामी नेपालीहरु डिप्रेसनको सिकार बन्नेछौं । मानवअधिकार हनन भएर जानेछ । देश बस्न लायक ठाउँ नै हुनेछैन् ।’ राज्य संयन्त्रबाट भएको अपराधिक कार्य र भ्रष्टाचारको खुलेरै विरोध गर्न रंगकर्मी बरालले आह्वान गरे ।
अभियान्ता गनेस पौडेलले अति हावा भरेपछि बेलुन पड्कने भन्दै भ्रष्टचारीको पोल्न खुल्ने बताए । नेपालीको पाइला पाइलामा भ्रष्टाचार भइरहेको उनको भनाइ छ । ‘बाटोमा भ्रष्टाचार छ । ढलमा भ्रष्टाचार छ । नलमा भ्रष्टाचार छ’, उनले भने, ‘कहिलेकाहीं त लाग्छ मैले खाने पानी र मैले फेर्ने श्वासमा पनि भ्रष्टाचार छ । मैले विरामी हुँदा सेवन गर्ने औषधिमा भ्रष्टाचार छ ।’
नेपालका भ्रष्टचारीले जनतालाई हेपेको उनको भनाइ छ । ‘यिनीहरुले त अन्तर्राष्ट्रिय जगतलाई हेप्न थाले’, उनले सुनाए । अन्तर्राष्ट्रिय जगतले चाहेर मात्रै अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा आएको उनको दाबी छ ।