दमाैली । व्यास नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । हालसम्म साविकको गाविस भवनमा सञ्चालन हुँदै आएको वडा कार्यालयको नयाँ भवन निर्माण गर्न लागिएको हो ।
उक्त भवनको मंगलबार नगरप्रमुख वैकुण्ठ न्यौपानेले शिलान्यास गरेका छन् । सो अवसरमा उनले वडा कार्यालयको भवन निर्माणपछि सहज रुपमा सेवा प्रवाहका लागि सजिलो हुने बताए ।
६४ लाखको लागतमा भवन निर्माण गर्न लागिएको वडाध्यक्ष जीवन गुरुङले बताए । उनका अनुसार आगामी असोज महिनाभित्र भवन निर्माण सम्पन्न हुनेछ । एक तल्लाको भवनमा तीन कोठा रहनेछ । अहिलेको वडा भवन जीर्ण र साँघुरो हुँदा सेवा प्रवाहमा कठिनाई हुँदै आइरहेको छ ।
यसैगरी सोही वडामा निर्माण सम्पन्न भएको स्वास्थ्यचौकी रातमाटाको मंगलबार नै उद्घाटन गरेका छन् । सो भवन २५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।