बन्दीपुर गाउँपालिकामा एम्बुलेन्स सेवा सुरु, सुत्केरीलाई निःशुल्क
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुर गाउँपालिकामा एम्बुलेन्स सेवा सुरु, सुत्केरीलाई निःशुल्क

    खबरपुञ्ज संवाददाता

    ३ जेष्ठ २०८०, बुधबार

    दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले मङ्गलबारदेखि एम्बुलेन्स सेवा सुरु गरेको छ । गाउँपालकाले सरकारको अनुदान सहयोगमा उक्त एम्बुलेन्स खरिद गरी सेवा सुरु गरेको हो ।

    गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले विगतका वर्षदेखि नै एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरिएपनि प्रक्रियागत झण्झटका कारण केही ढिला हुन पुगेको बताए । एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि बन्दीपुरका साथै छिमेकी पालिकाका सर्वसाधारण लाभान्वित हुने थापाले बताए ।

    बन्दीपुर गाउँपालिकाभित्रका सुत्केरीलाई उक्त एम्बुलेन्सबाट निःशुल्क सेवा दिइने थापाले बताए ।

    गाउँपालिकाले एम्बुलेन्स सञ्चालनका लागि फोकल पर्सनको रुपमा बन्दीपुर अस्पतालका लक्ष्मी ढकाललाई जिम्मेवारी दिएको छ । एम्बुलेन्सको दिगो व्यवस्थापनका लागि बिग्रिएको खण्डमा तत्कालै मर्मत गरिने उनले बताए ।

    (ख) वर्गको एम्बुलेन्स भएकाले मापदण्ड अनुसारको सबै सुविधा उपलब्ध हुने गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

    गाउँपालिकाले मङ्गलबारदेखि नै दाँतको सेवा सुरु गरेको छ । निजी क्लिनिकमा गएर उपचार गराउँदा महङ्गो हुने भएकाले अस्पतालमै दाँतको सेवा सुरुआत गरेको हो । अस्पतालबाट दाँत भर्ने, निकाल्ने सेवा प्रदान गरिनेछ । दाँतको सेवालाई थप गुणस्तरीय बनाइने अध्यक्ष थापाले बताए ।

    उक्त अस्पतालमा आँखाको उपचार सेवा सुरु भइसकेको छ भने आगामी आर्थिक वर्षदेखि भिडियो एक्सरे सेवा सुरु गर्ने तयारी गरिएको छ ।