दमाैली । तनहुँको भिमाद नगरपालिकास्थित सेतीकाली साहित्य सङ्गमको मुखपत्र सेतीकाली साहित्य यात्रा पुस्तक विमोचन भएको छ । ४१ औं काव्य श्रृङ्खलाको अवसरमा सहिद कल्याण खनाल स्मृति भवन भिमादमा शनिबार आयोजित कार्यक्रममा उक्त पुस्तकको विमोचन गरिएको हो ।
कवि आकाश अधिकारीले उक्त पुस्तकको विमोचन गर्दै मोफसलमा रहेरपनि साहित्यमा नविनतम दस्तावेजको रुपमा सेतीकाली साहित्य यात्रा बन्न सफल भएको बताउँदै साहित्यका माध्यमले सबै क्षेत्रलाई समेट्नुपर्ने बताए।
समीक्षक दिवाकर भट्टराईले सेतीकाली क्षेत्रको सांस्कृतिक, सामाजिक, आन्तरिक पर्यटनमा जोड दिने रचना समेटेकामा मुखपत्र दस्तावेजको रुपमा जीवित भएको र पाठकको नजरमा पुरातन भन्ने सम्भावनाबाट मुक्त हुनुपर्ने जोड दिए।
उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका निवृत्त प्राध्यापक सूर्यभक्त सिग्देल, युवा कवि दिवाकर भट्टराई, इन्दिरा खड्का, कृष्णप्रसाद सिग्देल, चन्द्रप्रकाश सुवेदी, माधव प्रसाद अधिकारी, नरेन्द्र थापा, तुलसी सिग्देल, रेणुका खनाल, लीला खनाल, सरद गैह्रे, सूर्य प्रसाद चापागाईं, श्रीकान्त उपाध्याय, केदारनाथ पराजुली, मन बहादुर सारु, सुरज लम्साल लगायतले रचनावाचन गरेका थिए ।
सेतीकाली साहित्य सङ्गमका अध्यक्ष नारायणकैलाश सिग्देलले पुस्तकमा विभिन्न व्यक्तिहरुका रचना समावेश गरिएको जानकारी दिए। उनले आगामी अङ्कमा परिस्कृत गर्दै अग्रजदेखि अनुजसम्मका रचना समेटेर वार्षिक रुपमा सेतीकाली साहित्य यात्रा प्रकाशन गर्ने बताए।