राजमार्गको धुलो नियन्त्रणका लागि नियमित पानी हालिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राजमार्गको धुलो नियन्त्रणका लागि नियमित पानी हालिने

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०८०, मंगलवार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा धुलोले सर्वसाधारण आजित भएपछि विरोधमा उत्रिएका छन् । मुग्लिन पोखरा सडक विस्तार कार्य भइरहँदा धुलोले आजित भएपछि स्थानीयवासी विरोधमा उत्रिएका हुन् ।

    शुक्लागण्डकी नगरपालिका अन्तर्गत खैरेनीटारदेखि कोत्रेसम्मको सडकखण्डमा बढी धुलो उडेर वातावरण दूषित भई स्थानीयको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि बाध्य भएर विरोध गर्नुपरेको सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानका संयोजक शङ्कर पन्तले बताए ।

    पन्तको नेतृत्वमा मङ्गलबार करिब ३० जना स्थानीय युवाहरुले सडकका निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन् । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) को ठेक्का पाएको चिनियाँ कम्पनीका प्रमुख चेन जुनताओ, सोही कम्पनीमा कार्यरत वातावरण इन्जिनियर शिव आशिष सिंखडा, इन्जिनियर मनोज भट्ट सहित बसेको बैठकले धुलो नियन्त्रणका लागि नियमित पानी हाल्ने सहमति गरेको छ ।

    काम गर्दा धुलो उड्न नदिन तथा नियन्त्रण गर्न कोत्रेदेखि खैरेनीटार कुम्लेखोलासम्म नियमित रुपमा तीन वटा पानी ट्याङ्करको व्यवस्था गरी बाटोमा पानी हालेर धुलो नियन्त्रण गर्ने सहमति भएको पन्तले जानकारी दिए। तीन वटा ट्याङ्करले अपुग भएमा थप ट्याङ्करको समेत व्यवस्था निर्माण कम्पनीले गर्ने सहमति भएको छ ।

    छलफलमा शुक्लागण्डकी नगरपालिका–२ का वडाध्यक्ष सुमन बहादुर राना मगर, कम्पनीका इन्जिनियर मनोज भट्ट लगायत सञ्चारकर्मीको उपस्थिति थियो ।