स्वास्थ्य सुविधा विस्तार गर्दै आँबुखैरेनी गाउँपालिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    स्वास्थ्य सुविधा विस्तार गर्दै आँबुखैरेनी गाउँपालिका

    खबरपुञ्ज संवाददाता

    ३२ जेष्ठ २०८०, बिहीबार

    दमाैली । गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित छ तनहुँको आँबुखैरेनी गाउँपालिका । पृथ्वीराजमार्गदेखि जिल्लाकै अग्लो स्थानसम्मलाई छोएको गाउँपालिकाले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा केही कामलाई अगाडी बढाएको छ ।

    गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात् आएका जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम अगाडी बढाएका छन् । स्वास्थ्यचौकीलाई गत मङ्सिरदेखि अस्पतालमा स्तरोन्नति गरेको गाउँपालिकाले आँखा उपचार केन्द्र विस्तार गरेको छ ।

    गाउँपालिकाका अध्यक्ष शुक्र चुमान भन्छन्, “स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो, सबै कुरा गर्न नसकौला तर स्वास्थ्यमा केही काम गर्छौ भनेर लागिपरेका छौ ।” स्थानीय तह निर्वाचनका बेला जनतामाझ जाँदा स्वास्थ्य क्षेत्रमा केही काम गर्छौ भनेर प्रतिबद्धता गरेकाले सोही प्रतिबद्धता पूरा गर्न आफूहरु प्रयाससरत रहेको चुमानले बताए।

    गाउँपालिकासँगै रहेको स्वास्थ्यचौकी पध्र शय्या अस्पतालमा सञ्चालन भइरहेको छ । अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी लगायतका सेवा प्रदान भइरहेको छ ।

    चुमानले भने, “एक÷डेढ वर्ष पहिला भिडियो एक्सरे गर्नपरे चितवन जानुपर्ने अवस्था थियो, चुनावका बेला गाउँपालिकाले यहीँ त्यो सुविधा सुरु गर्छौ भनेका थियौ । उक्त प्रतिबद्धता पूरा गर्न सफल भएका छौ । एक वर्षको बीचमा बेस्सरी मिहिनेत ग¥यौं अस्पताल निर्माणका लागि ।”

    गाउँपालिकाले आफ्नै स्रोतमा एमडिजिपी चिकित्सक नियुक्त गरेको छ । “एमजिडिपी डाक्टर गाउँपालिकाले राख्न सक्छ भनेर खिस्सीटिउरी गर्थे, हामीले त्यो काम ग¥यौं अहिले फेरि कतिसमयसम्म टिकाउन सक्ला र भनेर होच्याउने काम गरिरहेका छन्,” चुमानले भने।

    चुमानले गाउँपालिका आफैले अस्पताल सञ्चालन गर्दै आएको र उक्त अस्पतालबाट रिफर गरेर बिरामी लैजानपरे एम्बुलेन्स निशुल्क उपलब्ध गराउने गरिएको बताए। चुमानले भने “स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्छौ, आवश्यक परे विकास बजेट घटाएर पनि स्वास्थ्यमा लगानी गरिनेछ ।”

    चुमानले भने, “हामी बरु भत्ता नलिउँला, तर गाउँपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सुविधा दिन्छौ । हामी त भत्ताको लोभले जनप्रतिनिधि हुन आएको त होइन नी ।”

    केही बाध्यताका कारण अस्पतालमा केही रकम लिनपरेपनि भविष्यमा त्यसलाई निःशुल्क बनाइने चुमानले बताए। उनले भने, “केही बाध्यताका कारण अस्पतालमा केही रकम लिनुपरेको छ । उपचार जेनेतेन गरेका छौ, औषधि किन्ने बेला गाह्रो भइरहेको छ ।”

    गाउँपालिकाले निकट भविष्यमै शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको छ । उनका अनुसार सुत्केरी, एपेन्डिक्स, हर्निया र हाइड्रोसिलको शल्यक्रिया सेवा सुरु गरिनेछ ।

    आँखाको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिकाले केही दिन अगाडीदेखि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइसकेको छ । भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गरेको हो ।

    आँखाको उपचारका लागि आँबुखैरेनीका मात्र नभई छिमेकी गोरखा, बन्दीपुरका वासिन्दा पनि भरतपुरसम्म जानुपर्ने बाध्यता रहेकामा अब आँबुखैरेनीमै उपचार केन्द्र स्थापनापछि सबैलाई सहज हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताए।

    भरतपुर आँखा अस्पतालसँगको सम्झौता अनुसार आँखा केन्द्र स्थापनाका लागि आवश्यक दुई कोठे भवन गाउँपालिकाले उपलब्ध गराएको छ । आँखा उपचार केन्द्र स्थापनाका लागि चालु आर्थिक वर्षदेखि निरन्तर वार्षिक रुपमा पाँच वर्षसम्म रु छ लाखका दरले भरतपुर आँखा अस्पताललाई सहयोग गरिनेछ ।

    आँखा उपचार केन्द्रका लागि एक जना सहायक स्तरको कर्मचारी राखिएको छ । आँखा उपचार केन्द्रका लागि गाउँपालिका र भरतपुर आँखा अस्पताल चितवनको सहकार्यमा ओपिडी टिकट र आँखा उपचार केन्द्रमा टाँसिने व्यानरमा नेपाल सरकारका लोगो राख्न स्वीकृती दिने सम्झौता भएको छ ।

    आँखा उपचार केन्द्रका लागि नेपाल नेत्रज्योति सङ्घले आवश्यक पर्ने औजार, उपकरण, औषधि, चस्मा, लेन्स तथा स्टेशनरी उपलब्ध गराउनेछ । आँखा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन तथा सेवासुविधा नेपाल नेत्रज्योति सङ्घको नियमानुसार उपलब्ध गराउने सहमति भएको छ ।

    अस्पतालकाे आफ्नै फार्मेसी, बीमा सञ्चालन हुने

    आँबुखैरेनी अस्पतालले आफ्नै फार्मेसी सेवा सञ्चालन गरिसकेकाे छ । फार्मेसीबाट औषधि खरिद गर्दा दश प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ ।

    अस्पतालमा असार १ गतेदेखि स्वास्थ्य बीमा सञ्चालन हुने भएको छ । गाउँपालिकाले उक्त अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागेको हो ।

    अस्पतालमा सेवा लिन आउने सर्वसाधारणलाई सहज र सरल रुपमा सेवा दिने उद्धेश्य सहित स्वास्थ्य बीमा सञ्चालन गर्न लागिएको अध्यक्ष चुमानले जानकारी दिए । उनले भने, ‘नागरिकहरुलाई स्वास्थ्य सेवा सहज, सर्भसुलभ हिसावले उपलव्ध गराउनुपर्ने हाम्रो दायित्व हो ।’