दमौली । नेपालका युवा वैज्ञानिक निश्चल बॉनिया अमेरिकामा आयोजना हुने आणविक हतियारको निषेधमा राज्य दलहरूको दोस्रो संयुक्त राष्ट्र बैठकमा सहभागी हुने भएका छन् ।
जेनेभास्थित आणविक हतियारहरूलाई उन्मूलन गर्न अन्तर्राष्ट्रिय अभियान संस्थाको निमन्त्रणामा बॉनिया उक्त बैठकमा सहभागी हुन लागेका हुन् ।
उक्त बैठक अमेरिकाको न्युयोर्कमा २७ नोभेम्वरदेखि ३ डिसेम्बरसम्म आयोजना हुनेछ ।
उक्त बैठकमा बॉनियालाई आणविक हतियारहरूलाई उन्मूलन गर्न अन्तर्राष्ट्रिय अभियान संस्थाको प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएको हो । उक्त संस्था जेनेभा, स्वीजरल्याण्डमा रहेको गैर नाफामुलक संस्था हो जसलाई २०१७ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । यस्तो प्रतिष्ठित संगठनको प्रतिनिधित्व गर्ने अवसर पाउँदा निकै सम्मानित महशुस गरेको उनले बताए ।
उनले भने, ‘रूसी-युक्रानियन युद्धको बीचमा, जबकी विश्व अर्को आणविक युद्धको डरमा छ, शान्तिका लागि वार्ता गर्ने र आणविक हतियारहरूको प्रयोग रद्द गर्ने प्रयास गरिरहेका विश्व नेताहरूसँग आमने सामने कुराकानी गर्ने मौका पाउनु मेरो लागि साँच्चिकै गर्वको क्षण हुनुका साथै निकै ठुलो अवसर पनि हो ।’
भारत पाकिस्तान, भारत-चीन र चीन-ताइवान सीमाको तनावमध्ये युवाहरूले शान्ति कायम गर्न र हाम्रो क्षेत्रमा आणविक हतियारहरू रद्द गर्न महत्त्वपूर्ण भूमिका खेल्नु महत्त्वपूर्ण रहेको उनले बताए ।