बाढी आउने बेलामा शुक्लागण्डकीको मान्द्रेबजारमा कल्भर्ट बन्दै, गुणस्तरीय काम हुनेमा शङ्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाढी आउने बेलामा शुक्लागण्डकीको मान्द्रेबजारमा कल्भर्ट बन्दै, गुणस्तरीय काम हुनेमा शङ्का

    खबरपुञ्ज संवाददाता

    १३ असार २०८०, बिहीबार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मान्द्रेबजारस्थित बामपाङखोलामा असारको बाढी आउने बेला कल्भर्ट निर्माणको काम सुरु गरिएको छ । आर्थिक वर्ष सकिने बेलामा उक्त ठाउँमा कल्भर्ट निर्माणको काम सुरु भएको हो ।

    उक्त खोलामा असार २ गतेदेखि खोला खन्ने काम भइरहेको छ । एक वर्षसम्म काम नगरी आर्थिक वर्ष सकिने बेला त्यो पनि बाढी आउने बेला काम सुरु हुनुलाई स्थानीयले बजेटको दुरुपयोग हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।

    स्थानीयवासी राजकुमार थापाले वर्षा लाग्ने समयमा खोला खनेर राज्यको पैसा दोहन गर्ने काम भएको गुनासो गरे । उनले यसअगाडी समयमै कल्भर्ट निर्माणका लागि धेरै पटक प्रमुख उपप्रमुखसँग कुरा गरेपनि सुनुवाई नभएको बताए । उनले भने, “असारमा आएर काम गर्दा पैसा दोहन मात्रै हुन्छ । गुणस्तरीय काम नहुने पक्का छ ।” यत्तिका समयसम्म काम नगरी बस्ने र असारमा आएर खोला खन्ने काम हुँदा जनप्रतिनिधि जनताप्रति उत्तरदायी नभएको उनको भनाइ छ ।

    निर्माण व्यवसायी अमित पौडेलले नगरप्रमुख कृष्णराज पण्डितको निर्देशनमा काम सुरु भएको बताए । स्थानीयवासीले असारमा काम नगरौं, वर्षा सकिएपछि काम गरौं भन्ने माग राखेपनि नगरप्रमुखको आदेशले आफूहरुले काम गरेको उनले बताए । उनले भने, “वर्षा सकिएपछि काम गर्ने कुरा थियो । स्थानीय र वडासँग कुरा गर्दा यतिबेला नगरौं भन्नुभएको थियो तर नगरप्रमुखसँग कुरा गर्दा उहाँले काम तत्कालै सुरु गर्नुपर्छ भन्नुभयो ।”

    पानीको बहाव कम भएपछि काम गरौं भन्ने अधिकांश स्थानीयको माग रहेपनि वर्षा सुरु हुने बेला काम गर्न थालिएपछि सरकारी पैसाको चरम दोहन हुने सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानका संयोजक शंकर पन्तले बताए ।

    उनले एक वर्षसम्म काम नगरी अहिले काम सुरु गरिनु हास्यापद रहेको बताए । उनले भने, “यस्ता काम समयमै गर्नुपथ्यो, एक वर्षसम्म सुतेर बस्ने, अहिले आर्थिक वर्ष सकिनै लाग्दा काम गर्दा बजेटको दुरुपयोग हो । असारमा आएर खोला खन्नु हास्यापद छ । अहिले आएर गरिएको काम बलियो हुँदैन ।” पन्तले अहिले खर्च गरेर काम थाल्ने र बाढीले बगाउनुभन्दा अर्को वर्ष राम्रो काम हुनेमा नगरवासीले ध्यान दिनुपर्ने सुझाव दिए ।

    शुक्लागण्डकी नगरपालिका–१० का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले निर्माण व्यवसायीको कमजोरीका कारण समयमै काम हुन नसकेको बताए । हिउँदमै काम सुरु गर्न ताकेता गरेपनि काम नभएको उनको भनाइ छ ।

    नगरपालिकाको रु २५ लाखको लागतमा टेण्डर प्रक्रियामार्फत् कल्भर्ट निर्माण थालिएको उनले जानकारी दिए । उनले भने, “यसअगाडी काम गर्नका लागि ताकेता गरेका थियौ, काम हुन सकेन । असार महिनाभित्रै काम सम्पन्न गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता व्यक्त गरेका छन् ।”

    उनका अनुसार ६÷६ मिटर लम्बाई र चौडाइ भएको कल्भर्ट निर्माण गरिनेछ । यसअगाडी उक्त ठाउँमा आठ वटा ह्युमपाइप थियो । वर्षामा बाढी आउँदा खोला ह्युमपाइपभन्दा माथिबाट बग्दा आवतजावतमा समस्या हुँदै आइरहेको थियो । उनले भने, “वर्षाका बेला स्थानीयवासीलाई समस्या हुँदै आएको छ, कल्भर्ट बनेपछि केही सहज होला ।”