रत्नहरि अस्पतालकाे ताला खाेलिने, चार बुँदे सहमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रत्नहरि अस्पतालकाे ताला खाेलिने, चार बुँदे सहमति

    खबरपुञ्ज संवाददाता

    १७ असार २०८०, सोमबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–४ मुख्यचोकस्थित रत्नहरि अस्पतालमा लगाइएको ताला खोल्ने विषयमा चार बुँदे सहमति भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजनमा साेमबार बसेको पीडित र अस्पताल सञ्चालकबीचको बैठकले ताला खोल्नका लागि चार बुँदे सहमति गरेको हो ।

    डेङ्गु सङ्क्रमण भई अस्पताल भर्ना भएका व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय कमलप्रसाद शर्माको मृत्यु अस्पतालको लापरवाहीका कारण भएको भन्दै पीडितले आइतबार अस्पतालमा तालाबन्दी गरेका थिए ।

    गम्भीर प्रकृतिको बिरामीलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रिफर नगरी अस्पतालमै विभिन्न बहानामा राखिएको पीडित परिवारको आरोप छ ।

    बैठकले अस्पतालमा शर्माको मृत्यु भएको घटनामा उपचारको क्रममा भएको कमी कमजोरी पत्ता लगाई दोषीलाई कारवाही सिफारिस गर्न मेडिकल काउन्सिललाई अनुरोध गर्ने निर्णय गरेको छ ।

    व्यास नगरपालिकाभित्र रहेका सबै अस्पतालहरु नेपाल सरकारले तय गरेका मापदण्ड अनुसार चलेका छन् की छैनन् भन्ने विषयमा स्थानय तह र जिल्ला प्रशासन कार्यालयले सहकार्य गरी असार १९ गतेदेखि नै अनुगमन गर्ने र असार २१ भित्र यथार्थ विवरण सार्वजनिक गर्ने सहमति भएको छ ।

    असार १६ गते रत्नहरि अस्पतालमा कमल शर्माको उपचार र पोखरा पठाइएकामा एवं मृत्यु भएको सन्दर्भमा सत्यतथ्य के भएको हो ? तत्काल सार्वजनिक गर्न उक्त अस्पताललाई निर्देशन दिने सहमति भएको छ । साथै अस्पतालमा लगाइएको ताला आजैदेखि खोल्ने सहमति भएको प्रशासन कार्यालयले जनाएको छ ।