


दमाैली । तनहुँको व्यास नगरपालिका–५ स्थित बेनीपाटन टोल विकास संस्थाले विकासका काममा सघाउन तनहुँ जलविद्युत आयोजनासँग माग गरेको छ । आयोजनालाई मङ्गलबार ज्ञापनपत्र बुझाउँदै टोल विकास संस्थाले आयोजना प्रवेशमार्गको रुपमा रहेको टोलमा नाली व्यवस्थापन, कच्ची बाटोलाई कालोपत्र, विद्युत, मठमन्दिर, चौतारा, पानी निकास, नदी तटबन्धन लगायतका काममा सहयोग गर्न आग्रह गरेको हो ।
सामाजिक दायित्ववहन भित्र पर्ने विषयवस्तु टोलवासीका मागलाई यस अगाडी पनि ध्यानाकर्षण गराइएपनि माग सम्बोधन नभएको बेनीपाटन टोल विकास संस्थाका अध्यक्ष हेम पौडेलले बताए। टोल विकास संस्थले असार २४ गते आइतबारसम्मका लागि पुनः स्मरणका साथ ज्ञापनपत्र पेश गरेको उनकाे भनाइ छ ।
त्यस अवधिमा ठोस माग सम्बेधन नभए थप कदम चालिने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सोबाट सिर्जना हुने परिणामको जिम्मेवार तनहुँ जलविद्युत आयोजना हुने ज्ञापनपत्रमा उल्लेख छ ।
टोल विकास संस्थाले उक्त ज्ञापनपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका र व्यास नगरपालिका–५ वडालाई दिएको छ ।