आफ्नै कर्मचारीको मृत्युपछि स्वास्थ्य संस्था अनुगमनमा जुर्मुराएको व्यास नगरपालिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आफ्नै कर्मचारीको मृत्युपछि स्वास्थ्य संस्था अनुगमनमा जुर्मुराएको व्यास नगरपालिका

    खबरपुञ्ज संवाददाता

    २५ असार २०८०, मंगलवार

    दमाैली । तनहुँको व्यास नगरपालिकाका इन्जिनियर कमलप्रसाद शर्मा डेङ्गु सङ्क्रमणपछि रत्नहरि अस्पतालमा उपचारका लागि भर्ना भए । चार दिनसम्म पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि पोखरा लगियो । उनको बाटोमा नै मृत्यु भयो ।

    स्वास्थ्यमा गम्भीर समस्या आउँदा पनि अस्पतालले रिफर नगरेको भन्दै मृतकका आफन्त आक्रोशित भए । उनीहरुले उक्त अस्पतालमा तालाबन्दी गरे ।

    प्रशासनको संयोजनमा वार्तामा बसेर ताला खोलियो । त्यतिबेला व्यास नगरपालिकाभित्र रहेका सबै अस्पतालहरु नेपाल सरकारले तय गरेका मापदण्ड अनुसार चलेका छन् की छैनन् भन्ने विषयमा स्थानय तह र जिल्ला प्रशासन कार्यालयले सहकार्य गरी असार १९ गतेदेखि नै अनुगमन गर्ने र असार २१ भित्र यथार्थ विवरण सार्वजनिक गर्ने सहमति भयो ।

    सहमति अनुसार नै नगरपालिकाले दमौली बजारका अस्पतालको अनुगमन सुरु गरेको थियो । अस्पताल मात्र नभई नगरपालिकाले दमौलीमा रहेका औषधि पसलको समेत अनुगमन सुरु गरेको छ ।

    मंगलबार गरिएको अनुगमनका क्रममा दमौली बजारमा सञ्चालित सात आयुर्वेद पसल बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला आयुर्वेद केन्द्रका प्रतिनिधि सहितको टोलीले दर्ता गर्दा भन्दा अर्कै प्रयोजनले सञ्चालन गरिएका ती पसल बन्द गराएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

    उनका अनुसार व्यास होमियो फार्मेसी, आरोग्य फार्मेसी, लाइफ होमियो, आयुष होमियो फर्मा, प्रकाश आयुर्वेदिक, अमोल फार्मेसी बन्द गराइएको छ ।

    व्यास होमियो फार्मेसीमा फार्मेसी दर्ता भएकामा क्लिनिक तथा प्रयोगशाला समेत सञ्चालन भएको पाइएको छ । प्रयोगशाला र क्लिनिक दर्ता नभएको सोतीले बताए ।

    आरोग्य फार्मेसीमा एलोपेथी औषधि समेत विक्री गरेको, दर्ता प्रमाणपत्र उपलब्ध नभएको, औषधी खुल्ला रुपमा भेटिएको र फार्मेसी मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ ।

    लाइफ होमियो र अमोल फार्मेसीमा मासिक प्रतिवेदनको अवस्था नपठाएको, चिकित्सक पूर्ण अवधि नभएको, बिरामी रेकर्ड रजिष्टर नभएको, क्लिनिक मापदण्ड अनुसार नभएको पाइएको छ ।

    आयुष होमियो फर्मामा होमियोपेथी पसल दर्ता चलानी नै नभएको, म्याद सकिएका औषधी भेटिएको, औषधि पसल दर्ता गरी क्लिनिकको रूपमा सञ्चालन गरेको पाइएको छ । प्रकाश आयुर्वेदिकमा एलोपेथी औषधी विक्री गरेको र क्लिनिकको सेवा सञ्चालन गरेको पाइएको छ ।

    नगरपालिकाले यसअगाडी केही दिन पहिला दमौलीमा सञ्चालित अस्पतालको अनुगमन गरेको थियो । अनुगमनका क्रममा सिटी जनरल अस्पतालले नवीकरण नगरेको भेटिएको थियो । त्यस्तै म्याद सकिएको विटाडिन, फोहरमैलाको उचित व्यवस्थापन नभएको, नगरपालिकामा नियमित प्रतिवेदन नबुझाएको भेटिएको छ ।

    उक्त अस्पताल १५ शय्या क्षमताको भएतापनि मापदण्ड विपरित सञ्चालन गरेको भेटिएको थियो । उक्त अस्पताललाई एक साताभित्र जरिवाना सहित मापदण्ड पु¥याएर नविकरण गर्न निर्देशन दिइएको नगरपालिकाले जनाएको छ ।

    नेशनल एपोलो अस्पतालमा मापदण्ड अनुसार फोहोरमैलाको व्यवस्थापन राम्रो नभएको भेटिएको छ । समाधान र व्यास नगर अस्पताललाई पनि फोहरमैलाको उचित व्यवस्थापन गर्न सुझाव दिइएको छ । रत्नहरि अस्पताललाई भने बिरामी जाँच गर्ने कक्ष व्यवस्थित गर्न सुझाव दिइएको छ ।

    यस्ताे थियाे सहमति

    No description available.