दमौली । नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले मजदुरको न्युनतम तलब २५ हजार बनाउन माग सहित सरकारलाई ज्ञापनपत्र बुझाएको छ । तनहुँका अध्यक्ष कृष्ण केसीले बिहीबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमार्फत् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
आकासिदो महंगीको वर्तमान अवस्थामा चिया बगान लगायत सबै क्षेत्रका श्रमिकहरुलाई एकरुपता कायम हुने गरी न्युनतम पारिश्रमिक मासिक २५ हजार नभए श्रमजीविको हकहित र अधिकारका लागि नेपाल ट्रेड युनियन काँग्रेस कडा भन्दा कडा कदम चाल्न बाध्य हुने जनाइएको छ।
नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भए अनुसार प्रत्येक २/२ वर्षमा त्रिपक्षीय सहमतिका आधारमा श्रमजीविहरुको न्युनतम पारिश्रमिक निर्धारण गरी लागु गर्नुपर्ने विषयमा आफूहरु कटिबद्ध रहेको भन्दै ज्ञापनपत्रम भनिएको छ, ‘ यही व्यवस्था बमोजिम २०८० आषाढ मसान्तमा त्रिपक्षीय आधारमा न्युनतम पारिश्रमिक निर्धारण गरी श्रावणदेखि लागु गर्नु पर्नेमा सरकार, रोजगारदाता र ट्रेड युनियनबीच पटक- पटक छलफल हुँदा पनि सहमतिमा पुग्न नसकेको अवस्था छ ।’
रोजगारदाताका साथै सरकार समेत श्रमजीविको न्युनतम पारिश्रमिकमा गम्भीर नदेखिएको भन्दै ज्ञापनपत्रमा सरकार आफै कानुन विपरित देशमा दुई प्रकारको न्युनतम पारिश्रमिक निर्धारण गरी गम्भीर विभेद गरिरहेको उल्लेख गरिएको छ ।
वर्तमान समयको मूल्य वृद्धि र महंगीलाई समेत ध्यानमा राखी नेपाल ट्रेड युनियन काँग्रेसले २०८० आषाढ ४-६ सम्म काठमाडौमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनमा व्यापक छलफल गरी कम्तीमा श्रमिकको पारिश्रमिक न्युनतम मासिक २५ हजार हुनुपर्ने निर्णय गरेको छ ।