लमजुङ । महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । तनहुँको भानु नगरपालिका-७ घर भएका ३० वर्षीय श्यामचन्द्र खतिवडालाई प्रहरीले लमजुङको राइनास नगरपालिका-६ को जंगलबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार आइतबार अपराह्न अन्दाजी साँढे ४ बजेतिर खतिवडा जंगलनेरको बाटोमा ढुकेर बसेको र पोखराबाट साउने संक्रान्ति मनाउन माइत आएकी राइनास नगरपालिका-६ का लक्ष्मी नेपालीको पिछा गरेर उनले घाँटीमा लगाएको १ तोला २१ लाल बराबरको सुनको सिक्री लुटेर भागेका थिए ।
खतिवडालाई स्थानीय प्रहरी चौकीबाट खटिएको टोलीले घटनास्थल नजिकैबाट घटना घटेको दिन आइतबार साँझ ६ बजेतिर सुनको सिक्रीसहित पक्राउ गरिएको रेग्मीले बताए । उनका अनुसार सोमबार लमजुङ जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिएर खतिवडामाथि अनुसन्धान थालिएको छ ।
प्रहरीका अनुसार मुलुकी अपराध संहिता, २०७४ अनुसार बाटोघाटो, एकान्त स्थल वा जंगलमा ढुकेर चोरी गर्ने व्यक्तिलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । (इकान्तिपुरबाट)