दमौली । तनहुँमा एक वर्षको अवधिमा करिब आठ हजार पशुमा कृत्रिम गर्भाधान गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०७९/८० मा जिल्लामा सात हजार ९१६ पशुमा कृत्रिम गर्भाधान गरेको हो ।
केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठका अनुसार उक्त अवधिमा चार हजार ३५८ गाई, तीन हजार ३८८ भैँसी र १७० बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ । गर्भाधान गरिएकामध्ये गाईमा ५५, भैँसीमा ५० र बाख्रामा ४० प्रतिशत सफल भएको डा. श्रेष्ठले जानकारी दिए ।
जिल्लामा कूल नौ ठाउँमा कृत्रिम गर्भाधान केन्द्र रहेका छन् । विगत वर्षभन्दा आव २०७९÷८० मा कृत्रिम गर्भाधान १५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको डा. श्रेष्ठको भनाइ छ ।
सरकारले नश्ल सुधार कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्दै आएको छ । पशुमा कृत्रिम गर्भाधान गराएमा कम उत्पादनशील स्थानीय पशुको उत्पादकत्व वृद्धि हुने, प्रजननका लागि भाले जनावर पाल्नु नपर्ने, हाडनाता प्रजननबाट उत्पादकत्वमा हुने ह्रास नहुने र प्रजननका माध्यमबाट सर्ने विभिन्न रोगबाट पशुको बचावट गर्न सकिने डा.श्रेष्ठले बताए ।