राष्ट्रपतिले ओलीलाई भने- संसदको गतिरोध अन्त्य गर्नुपर्‍यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपतिले ओलीलाई भने- संसदको गतिरोध अन्त्य गर्नुपर्‍यो

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०८०, बुधबार

    काठमाडाै । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको गतिरोध अन्त्य गर्न पहल गरिरहेका छन्। लामो समयदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठक चल्न दिएको छैन।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट गत साउन २ गते बरामद भएको सुनका विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राख्दै एमालेले सदनमा लगातार अवरोध गर्दै आएको छ।

    एमालेको नाराबाजी र वेल घेराउले प्रतिनिधि सभा बैठक भदौ ३ गतेसम्म र राष्ट्रिय सभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ। यसबीचमा संसदको गतिरोध हटाउन राष्ट्रपति पौडेलले पनि पहल गरिरहेका छन्।

    राष्ट्रपति पौडेलले बुधबार दिउँसो प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग शितलनिवासमा भेटवार्ता गरेका छन्। भेटवार्ता संसदको गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित रहेको थियो।

    राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले सदनको गतिरोध अन्त्य गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका छन्।

    ‘समसामयिक राजनीतिक घटनाक्रम र मुख्यगरी सदनको गतिरोध अन्त्य गर्ने विषयमा उहाँहरूबीच कुराकानी केन्द्रित भयो,’ पोखरेलले भने, ‘लामो समय संसद चल्न नसक्दा जनतामा नैराश्यता र संसदप्रति नै नकरात्मक प्रभाव पर्ने भएकोले गतिरोध अन्त्य गर्न राष्ट्रपतिज्यूले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई ध्यानाकर्षण गराउनुभएको छ।’

    राष्ट्रपति पौडेलले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरूलाई भेटेर विश्वासको वातावरण सिर्जना गरी सदन चल्ने वातावरण बनाउन पनि आग्रह गर्दै आएका छन्।

    ‘सबै दलहरूलाई विश्वासमा लिएर सदन चल्ने वातावरण बनाउन उहाँले सुझाव पनि दिनुभएको छ,’ उनले भने। राष्ट्रपति पौडेलका कुरा सुनेका ओलीले ‘संसद त खोल्नुपर्छ’ भन्ने कुरा राखेका थिए।

    एमालेले आफूहरूले भन्दा पनि सत्ता पक्षले नै सदन चलाउन नचाहेको आरोप लगाउँदै आइरहेको छ। 

    साथै अध्यक्ष ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

    गत साउन २६ गते राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शितल निवासमै छलफल गरेका थिए।

    सभामुख र राष्ट्रिय सभा अध्यक्षसँग सदनको अवरोध खुलाउन भएका पहलबारे राष्ट्रपतिले जानकारी लिएका थिए।

    सभामुख घिमिरेले पटक-पटक प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्ता र प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल गरेको विषय राष्ट्रपतिलाई जानकारी गराएका थिए।

    सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट पनि सहयोगको अपेक्षा उनीहरूले राखेका थिए।

    राष्ट्रपति पौडेलले साउन २५ गते प्रधानमन्त्री दाहालसँग शितल निवासमै भेटवार्ता गरेका थिए। लगातार संसद अवरोध हुँदा जनताका कुरा सांसदहरूले सदनमा राख्न नपाएको विषयमा राष्ट्रपतिले प्रधानमन्त्रीसँग चासो राखेका थिए।