मेलमिलाप र शान्तिको वातावरण कायम गर्न राप्रपा तनहुँको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मेलमिलाप र शान्तिको वातावरण कायम गर्न राप्रपा तनहुँको माग

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०८०, मंगलवार

    दमाैली । राप्रपा तनहुँले धरानमा गौबध गरी मासु खाएको घटनामा संलग्नलाई पक्राउ गरी कारवाहीको माग गरेको छ । राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउँदै मासु खाएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गर्ने र त्यस्तो गर्न पाउनुपर्छ भन्दै खुलेआम चुनौति दिने पक्षलाई सरकारले कारवाही गर्न उदासिनता देखाएको बताएका छन् ।

    उक्त घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै समाजमा मेलमिलाप र शान्तिको वातावरण कायम गर्न माग गरेको छ । बहुसंख्यक हिन्दु रहेको देशमा सनातन संस्कार मान्दै आएका सनातनी ओमकार परिवारलाई खुला चुनौती दिने, हिन्दुले बनाएको मन्दिरसँगै चर्च बनाउने र त्यसले सिर्जना गर्न सक्ने सामाजिक द्वन्द्वप्रति सरोकार पक्ष र सरकारका निकायले देखाएको निस्क्रियताले समग्र हिन्दु धर्मावलम्विहरुको आस्थामाथि गहिरो चोट पुगेको राप्रपाको ठहर छ ।

    नेपालको संविधान, मुलुकी अपराध संहिता, २०७४ को दफा १५६ तथा २८९ विरुद्ध भएका यस्ता गतिविधिउपर रोक लगाई सम्वन्धित पक्षलाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्नेमा संविधानको धारा २६ को उपधारा(३) ले दिएको अधिकार अनुरुप शान्तिपूर्ण रुपले विना हतियार भेला हुन पाउने अधिकार बमोजिम सनातन परिवारले गर्न लागेको विशाल जनसभामा लगाएको निषेधाज्ञाले हिन्दु धर्मावलम्बीहरुप्रति सरकारको रवैया थप प्रष्ट भएको ज्ञापनपत्रमा उल्लेख छ ।

    संविधान र प्रचलित कानुनको बर्खिलाप काम गर्नेहरु विरुद्ध कडा कानुनी कारवाही गरी सनातन संस्कृति मान्दै आएका ओमकार परिवारहरुको आस्थाको सम्मान गर्न र समाजमा मेलमिलाप र शान्तिको वातावरण कायम गर्न माग गरिएको छ ।