ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०८०, शुक्रबार

    काठमाडौ । सांस्कृतिक पर्व ‘गाईजात्रा’सँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)को अवसरमा नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन् ।   
      
    राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईँले निर्देशन गरेकी छन् । यद्यपि चलचित्र पूर्णरूपमा राजनीतिमै केन्द्रित भने नरहेको निर्देशक चौलागाईंले बताइन् । “हाम्रो दैनिक जीवन राजनीतिबाट टाढा छैन, चलचित्रमा सामाजिक विषयवस्तु पनि समावेश छ”, उनले भनिन् ।
      
    चलचित्रमा अभिनय गरेकी अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छन् । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताइन् ।   
      
    केपी फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतले अभिनय गरेका छन् ।
      
    बिहीबारदेखि नै प्रदर्शन गरिएको अर्को चलचित्र ‘गणपति’लाई सविन अधिकारीले निर्देशन गरेका छन् । उनकै लेखन रहेको सो चलचित्रमा निःसन्तान दम्पतीलाई भगवान् गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ ।   
      
    चलचित्रमा मुुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङलगायतले अभिनय गरेका छन्। अभिनेता भुसालले चलचित्रमार्फत समाजको विकृतिलाई व्यङ्ग्य गरिएको बताए ।   
      
    उनले भने, “यो केही फरकरूपमा तयार भएको छ । यसमा अभिनय गर्दा पात्रमै रहेर केही समय बिताएको थिएँ ।” चलचित्रमा हरिबहादुर घलेले छायाँङ्कन, विपिन मल्लले सम्पादन र कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।
    –––