जात्रा संरक्षणमा बन्दीपुरका नेवार समुदाय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जात्रा संरक्षणमा बन्दीपुरका नेवार समुदाय

    Krishna Chandra Neupane

    १८ भाद्र २०८०, मंगलवार

    दमाैली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरका नेवार समुदाय जात्रा संरक्षणमा जुटेका छन् । यहाँका नेवार समुदायले विभिन्न जात्राको संरक्षण र प्रबद्र्धन गर्दै आएका छन् ।

    बन्दीपुरमा साढे दुई सय वर्ष पहिलादेखि नेवार समुदायले विभिन्न जात्रा प्रदर्शन गर्दै आएका छन् । नेवार समुदायको संस्कृतिको रुपमा रहेको विभिन्न जात्रा बन्दीपुरमा प्रदर्शन हुँदै आएको बन्दीपुर नेवाः पुचका अध्यक्ष किसान प्रधानले जानकारी दिए।

    प्रधानले भने, “भक्तपुरबाट बन्दीपुर नेवार बसाइँसराइँ मात्रै गरेनन्, संस्कृति पनि लिएर आएँ । त्यही संस्कृतिको संरक्षणमा नेवार समुदाय लागिरहेका छन् ।” उनका अनुसार बन्दीपुरका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै आएका छन् । बन्दीपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आइएको छ ।

    उनीहरुले बन्दीपुरमा व्यापार मात्रै नगरी पर्व र संस्कृतिको पनि संरक्षण गर्दै आएका छन् । बन्दीपुरका नेवारहरुले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाउँदै आएका छन् ।

    विगत वर्षझैं यस वर्ष पनि बन्दीपुरमा बाघजात्रा देखाइएकाे छ । खड्गमाइ सांस्कृतिक परिवारको सक्रियतामा साेमबार साँझ बन्दीपुरमा बाघजात्रा देखाइएकाे परिवारका अध्यक्ष गेहेन्द्र प्रधानले जानकारी दिए ।

    प्रत्येक वर्ष दुई दिन बाघजात्रा देखाउने गरिएपनि यस वर्ष भने विशेष कारणवश एकदिनमात्रै बाघजात्रा देखाइएकाे हाे ।

    बन्दीपुरमा २० गते रोपाइँ जात्रा, त्यसको तीन दिनमा भिमसेन जात्रा र तीजको भोलिपल्ट चौथी पूजा प्रस्तुत गरिनेछ ।

    आजभन्दा साढे दुई सय वर्ष पहिला भक्तपुरका नेवार व्यापार गर्न बन्दीपुर बसाइसराइँ गरी आएका थिए । भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दिपुरलाई थाततलो बनाए । भक्तपुरबाट उनीहरुमात्रै बन्दीपुर आएनन्, सँगै भक्तपुरे नेवारी संस्कृति पनि भित्रिएको थियो ।

    सन् १७६८ तिर पृथ्वीनारायण शाहले काठमाडौ आक्रमण गर्दा भक्तपुरका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीशहरु बन्दीपुर पसेको इतिहास छ । व्यापार गर्न बन्दीपुर छिरेका भक्तपुरका नेवारहरुकै कारण बन्दीपुरमा आजसम्म विभिन्न जात्राको परम्परा रहँदै आएको छ ।

    त्यहीबेलादेखि नै बन्दीपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आएको बताइन्छ । प्रधानले भने, “भक्तपुरबाट बन्दीपुरमा नेवार मात्रै छिरेनन्, जात्रा र संस्कृति पनि छि¥यो । उनीहरुले बन्दीपुरमा व्यापार मात्रै गरेनन् । पर्व र संस्कृतिको पनि संरक्षण गर्दै आएका छन ।”

    बन्दीपुरका नेवारहरुले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाउँदै आएका छन् । “हाम्रा पुर्खाहरुले मनाउँदै आएका पर्व र संस्कृति बिर्सने कुरा हुँदैन, प्रत्येक वर्ष त्यसलाई निरन्तरता दिँदै आएका छौ,” उनले भने ।

    बन्दीपुरमा बस्ती मगर समुदायले बसालेका हुन् । त्यसैकारण बन्दीपुरको नामाकरण मगर भाषामै गरिएको छ । वन भनेको जङ्गल र डि भनेको मगर भाषामा पानी हो । विस्तारै मगर समुदाय यहाँबाट पलायन हुन थाले र नेवार समुदायको उपस्थिति बढ्न थालेको बताइन्छ ।

    बन्दीपुर बजारमा मात्रै एक सय ३४ घरधुरी नेवार समुदायको छ । बन्दीपुरमा भक्तपुरे शैलीका घर निर्माण गरिएका छन् । बन्दीपुरमा नेवार समुदायले बिस्केट जात्रा, लाखे नाच, गाईजात्रा, बाघ जात्रा, रोपाइँ जात्रा लगायत मनाउँदै आएका छन् ।