दमौली । व्यास-५ चापाघाटस्थित भजन संकिर्तन समूहद्वारा सञ्चालित दिवाकालिन जेष्ठ नागरिक आश्रमले ३८ जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ ।
३३ औ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आइतबार उनीहरुलाई सम्मान गरिएको हो । व्यास-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘हिमाल’ ले ज्येष्ठ नागरिकहरूलाई रामनामी (दोसल्ला )ओढाएर साथै फलफुल वितरण गरेर सम्मान गरेका थिए ।
सो अवसरमा श्रेष्ठले वृद्धवृद्धा समाज परिवर्तनका महत्वपूर्ण अंग भएको बताउँदै समाज रुपान्तरण र निर्माणमा वृद्धवृद्धा आमाबुबाको महत्वपुर्ण भूमिका रहेको बताए ।
भजन संकृतन समूहका अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा चापाघाट टोल विकास संस्थाका अध्यक्ष नरवहादुर थापा, सल्लाहकार समिति सदस्य हिरा थापा, आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष बुद्धिमान श्रेष्ठ, समूहका पूर्व अध्यक्ष एवं सल्लाहकार सदस्य मानध्वज थापाले संस्थालाई अहिलेको स्थितिसम्म आइपुग्न निकै नै कठिनाइ भोग्नु परेतापनि अहिले आफ्नै भवनमा सञ्चालन हुनु खुसीको कुरा भएको बताए ।