एमाले गण्डकी अधिवेशन : तनहुँले दुवै टिममा पाएन पदाधिकारी, आठ सदस्य पाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    एमाले गण्डकी अधिवेशन : तनहुँले दुवै टिममा पाएन पदाधिकारी, आठ सदस्य पाउने

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०८०, बुधबार

    दमौली । नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशन अन्तर्गत बुधबार मतदान हुँदैछ । कार्यतालिका अनुसार बुधबार नै उम्मेदवारी दर्तादेखि मतदानको कार्यक्रम छ ।

    एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीले छुट्टाछुट्टै प्यानल बनाएर आफू निकटका नेतालाई उम्मेदवार बनाउँदैछन् ।

    तनहुँका कुनै पनि नेताले दुवै टिममा पदाधिकारी नपाउने निश्चित भएको छ । एमाले तनहुँका पूर्व अध्यक्ष केदार सिग्देल र पूर्व कार्यवाहक सचिव विष्णुभक्त सिग्देल क्रमश: अध्यक्ष र सचिवको आकांक्षी थिए । दुवै टिमको पदाधिकारीमा तनहुँले भाग नपाउने भएको छ।

    प्रदेश सदस्यका लागि भने तनहुँले आठ वटा कोटा पाएको छ । नेतृत्व चयन प्रक्रिया अन्तर्गत सबै जिल्लाको निर्वाचन क्लष्टर विभाजन गर्दा तनहुँको भागमा ८ सदस्य परेको हो ।

    तनहुँले दुई वटा निर्वाचन क्षेत्रबाट एक/एक जना, जिल्ला भुगोल अन्तर्गत खुल्लामा २ जना, जिल्लाभरबाट महिला ३ जना र दलित १ जना सदस्य पाएको छ । त्यस बाहेकका अन्य पदहरुमा निर्वाचित हुनु परेमा प्रदेशभर नै चुनाव लड्न पर्नेछ।

    अधिवेशनले अध्यक्ष,उपाध्यक्ष, सचिव, उपसचिव खुल्ला र उपसचिव महिला गरि पाँच पदाधिकारी निर्वाचित गर्नेछ । त्यस्तै प्रदेशका १८ निर्वाचन क्षेत्रबाट १÷१ जना गरि १८ जना, प्रदेशका ११ जिल्लाको भुगोल क्लष्टरबाट ६१ जना, प्रदेश खुल्ला निर्वाचन क्षेत्र तर्फ खुल्ला सदस्य २२ जना, महिला ११ जना, दलित महिला ५ जना, अपाङ्ग १ जना, ४० वर्षमुनिका युवा खुल्ला तर्फ १० जना, युवा महिला तर्फ ४ जना, मजदुर खुल्ला तर्फ ३ जना र मजदुर महिला तर्फ १ जना निर्वाचित गर्नेछ ।

    त्यस्तै समावेशी तर्फ आदिवासी जनजाती खुल्ला तर्फ ६ जना, जनजाती महिला ३ जना, अल्पसंख्यक खुल्ला २ जना, अल्पसंख्यक महिला १ जना र मुस्लिम १ जना निर्वाचित गर्नेछ । त्यसैगरि प्रदेश लेखा आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिव १÷१ जना तथा खुल्ला सदस्य २ र महिला सदस्य २ जना निर्वाचित गर्नेछ ।