तनहुँमा डेङ्गु सङ्क्रमित ५५२७ पुगे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा डेङ्गु सङ्क्रमित ५५२७ पुगे

    खबरपुञ्ज संवाददाता

    २९ आश्विन २०८०, सोमबार

    दमाैली । तनहुँमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङख्या दैनिक बढ्दो छ । गण्डकी प्रदेशमै सबैभन्दा बढी डेङ्गु सङ्क्रमण तनहुँमा भएको छ ।

    स्वास्थ्य कार्यालय तनहुँका अनुसार सोमबारसम्म डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ५ हजार ५ सय २७ पुगेको छ । त्यसमध्ये व्यास नगरपालिकामा मात्रै ४ हजार छ सय ६३ जना छन् ।

    आँबुखैरेनीमा ३९, ऋषिङमा एक सय ४७, घिरिङमा आठ, देवघाटमा नौ, बन्दीपुरमा ३६, भानुमा ७३, भिमादमा एक सय ५३ र म्याग्देमा ८१ जना सङ्क्रमित छन् ।

    जिल्लाका ३४ स्वास्थ्य संस्थामा डेङ्गुको परीक्षण गरिएको छ । त्यसमध्ये सबैभन्दा बढी दमौली अस्पतालमा परीक्षण गरिएको छ ।

    डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि सबै स्थानीय तहलाई खोज र नष्ट गर अभियान सञ्चालन गर्न परिपत्र गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले जानकारी दिए। उनले भने “डेङ्गु ज्वरोबाट बच्न र सतर्कता अपनाउन सबै स्थानीय तहमा रहेका स्वास्थ्य शाखा र मातहतका स्वास्थ्य संस्थाहरुलाई परिपत्र गरी दैनिक सम्पर्क गर्ने गरिएको छ । सचेतनामूलक कार्यक्रमलाई पनि सँगै अगाडी बढाइएको छ ।”

    अधिकारीका अनुसार पालिकामा आवश्यक पर्ने स्वास्थ्य सामग्रीको व्यवस्था मिलाउन सबै पालिकामा समन्वय गरी कमी हुन नदिने व्यवस्था मिलाइएको छ । स्थानीय अस्पतालहरुको दक्षता, क्षमता अनुसार उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै बिरामीहरुलाई उपचार गर्ने र जटिलता उत्पन्न हुन सक्ने भएमा साथै बहुविशेषज्ञ चिकित्सकहरुको रेखदेखमा उपचार गर्नुपर्ने देखिएमा सुविधासम्पन्न अस्पतालमा समन्वय गरी प्रेषण गर्न सबै अस्पताललाई निर्देशन दिइएको छ ।

    एक्कासी ३ देखि ५ दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो ५ देखि ७ दिनसम्म रहिरहन सक्दछ । यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशीहरु बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् ।