गाेरखा । एघारौँ लिगलिगे दौड प्रतियोगिता ‘२०८०’ को उपाधि नेपाली सेनाका गजेन्द्र राईले हात पारेका छन् । निर्धारित १३ दशमलव ८ किलोमिटर दूरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै उनले उपाधि जितेका हुन् ।
उपाधि जितेसँगै राई यस वर्षका लागि लिगलिगे राजा घोषित भएका छन् । प्रतियोगितामा निर्धारित दुरी ५६ मिनेट ५३ सेकेन्डमा पार गर्दै सेनाकै नरेन्द्रसिंह रावत दोस्रो भएका छन् । भारतीय सेनामा कार्यरत अनिष थापामगर प्रतियोगितामा यसपटक तेस्रो भएका छन् । उनले निर्धारित दुरी ५८ मिनेट ३५ सेकेन्डमा पूरा गरेर तेस्रो हुन सफल भएका हुन् ।
गोरखा र लमजुङको सिमानामा पर्ने मस्र्याङदी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरु भएको दौड प्रतियोगिता ढिँकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ,सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुङिगएको थियो । प्रतियोगितामा उपाधि विजेता राईले रु एक लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै दोस्रो भएका रावतले ५० हजारसहित मेडल र प्रमाणपत्र, तेस्रो हुने सफल थापामगरले २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेकाे आयोजक लिगलिगकोट विकास अभियानका अध्यक्ष सञ्जीव रानाले जानकारी दिए।
नेपाल एकीकरणअघिका बाइसे चौबिसे राज्यमध्ये एक लिगलिग कोटमा दौडेर पहिलो हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । तत्कालीन समयमा दौडर राजा हुने परम्परालाई जोगाइ राख्न पछिल्लो समय दौड प्रतियोगिता गर्ने गरिएको छ । लिगलिगमा आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताले टेवा पुगेको आयोजकले जनाएको छ । विसं १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः विसं २०६७ बाट निरन्तरता दिन थालिएको अध्यक्ष रानाले जानकारी दिए। द्रव्य शाहले दौडमा विजय हासिलगरी राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।