प्रदेश अस्पतालबाट २४ घाइते ‘डिस्चार्ज’, अन्यको अवस्था सामान्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रदेश अस्पतालबाट २४ घाइते ‘डिस्चार्ज’, अन्यको अवस्था सामान्य

    खबरपुञ्ज संवाददाता

    २३ कार्तिक २०८०, शुक्रबार

    सुर्खेत । भूकम्पमा परी घाइते भइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका २४ जना ‘डिस्चार्ज’ भएका छन् । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई यही कात्तिक १७ गते गएको भूकम्पका परी गम्भीर घाइते भएकामध्ये ४५ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको थियो । तीमध्ये २४ जना डिस्चार्ज भएका हुन् ।

    अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काकाअनुसार भूकम्पमा परी घाइते भएकामध्ये जाजरकोटका २५ जना, रुकुमपश्चिम १३ जना र दैलेख गुराँस गाउँपालिकाका एक जनाले उपचार गराइरहेकामा २४ जनालाई निको भएर घर फर्किएका छन् । अस्पतालमा उपचार गराइरहेका अन्य २१ जनाको अवस्था पनि सुधार हुँदै गएको उनले जानकारी दिए ।

    शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी घाइतेको अवस्थाका बारेमा जानकारी दिँदै डाक्टर खड्काले उनीहरुको उपचारका लागि पाँच जना चिकित्सक खटाइएको बताए । अहिले एक जना घाइतेको न्यूरो आइसियु भेन्टिलेटरमा उपचार भइरहेको छ भने एक जनाको आइसियुमा उपचार भइरहेको छ । अन्य १९ जनाको जनरल वार्डमा उपचार भइरहेको खड्काले बताए ।

    घाइते भएकामध्ये अस्पतालमा पाँच वर्ष मुनिका छ जना बालबालिकाको उपचार भइरहेको छ भने पाँच जनाको शल्यक्रिया गरिएको छ । अस्पतालका निर्देशक खड्काले घाइतेको उपचार तथा व्यवस्थापन गर्न अस्पतालका विपद् व्यवस्थापन समिति सक्रिय भई उपचार टोली चौबिसै घण्टा खटिएको बताए ।