विश्वकप फुटबल छनोट : नेपाल यमनसँग पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विश्वकप फुटबल छनोट : नेपाल यमनसँग पराजित

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०८०, मंगलवार

    काठमाडौ । विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा समूह ‘एच’ को खेलमा नेपालले लगातार दोस्रो खेलमा पराजय भोगेको छ। 

    मंगलबार राति दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनसँग २-० गोलको पराजय भोगेको हो।

    यमनले नेपालविरूद्ध दुवै गोल दोस्रो हाफमा गरेको थियो। दुवै गोल सब्सिच्युट खेलाडीले गर्दा दशरथ रंगशालामा उपस्थित १३ हजार ७ सय दर्शक स्तब्ध बनेका थिए। 

    यमनका लागि ओमर अब्दुल्लाहले ७२ मिनेटमा पहिलो गोल गरे। उनले डिबक्स बाहिरबाट नेपाली डिफेन्डरलाई छक्काउँदै गरेको प्रहारलाई नेपालका गोलकिपर तथा कप्तान किरणकुमार लिम्बुले रोक्न सकेनन्। 

    खेलको अन्तिम मिनेटमा अब्दुल्लाह अल दाहीले यमनको अग्रता दोब्बर पारे। 

    दोस्रो हाफमा नेपालका हिसुब थपलियाले गोल गर्ने अवसर पाए पनि उनको प्रहारलाई यमनका गोलकिपरले रोकेका थिए।

    त्यसअघि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

    खेलको २१ मिनेटमा नेपालका अन्जन विष्टले डिबक्स भित्रबाट गोल गर्ने अवसर पाएका थिए। तर उनको हेडरले गोलपोस्टको दिशा लिन सकेन।

    Nchl

    ३२ मिनेटमा नेपालका गोलकिपर किरणले यमनका खेलाडीको प्रहारको उत्कृष्ट बचाउ गरेका थिए। यमनका अहमद खलिदले डिबक्सबाट हानेको सशक्त प्रहारलाई किरणले पञ्च गरेर मैदान बाहिर पठाएका थिए।

    यसअघि नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग ४-० को हार ब्यहोरेको थियो। यमन पनि बहराइनसँग २-० ले पराजित भएको थियो।

    फिफा वरीयतामा यमन १५६औं स्थानमा रहदा नेपाल १७३औं स्थानमा छ।

    दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन्। नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २-२ खेल गरी ६ खेल खेल्नेछ। दोस्रो चरणको छनोटको अन्तिम खेल ६ जुनमा हुनेछ।

    चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्।

    पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ।