सिरानडाँडामा आन्तरिक पर्यटकको चहलपहल (तस्वीर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    सिरानडाँडामा आन्तरिक पर्यटकको चहलपहल (तस्वीर सहित)

    खबरपुञ्ज संवाददाता

    १० मंसिर २०८०, सोमबार

    दमाैली । गोरखाको अजिरकोट गाउँपालिकामा पर्ने सिरानडाँडा पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भएको छ । समुन्द्री सतहबाट करिब दुई हजार मिटर उचाइमा अवस्थित यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

    अजिरकोट गाउँपालिका–५ मा अवस्थित सिरानडाँडा, नम्की सामुदायिक होमस्टेमा पर्यटकको चहलपहल बढेको स्थानीय बताउँछन् । यस ठाउँको हावापानी, सुन्दर दृश्यका कारण पर्यटक लोभिने नम्कीका कल्पना तामाङले बताइन् ।

    उनले भनिन्, “चिसो मौसममा आन्तरिक पर्यटकको भीड हुन्छ । अझ हिमपात भएको बेला त झन् थामिनसक्नु हुन्छ । पुस माघमा सिरानडाँडामा हिमपात हुने गरेको छ ।” सिरानडाँडा भन्दा तलपट्टि नम्की सामुदायिक होमस्टे छ । तामाङ समुदायको बसोबास रहेको यहाँका दश घरमा होमस्टे सञ्चालन छ । होमस्टेमा एकैरात ६० जनासम्म पर्यटक राख्न सकिने क्षमता रहेको बुद्ध नम्की सामुदायिक होमस्टेका सदस्य समेत रहेकी कल्पनाले जानकारी दिइन् ।

    उनका अनुसार यस ठाउँमा तनहुँ, लमजुङ, चितवन, पोखरा, काठमाडौ लगायतका ठाउँबाट आन्तरिक पर्यटक आउने गरेका छन् । उनले भनिन्, “यतिबेला होमस्टे भरिभराउ छ ।”

    यहाँबाट बुद्ध, हिमालचुली, मनास्लु हिमालको दृश्यावलोकन गर्न सकिन्छ । त्यस्तै सूर्योदय र सूयास्तको मनोरम दृश्य समेत यहाँबाट देख्न सकिन्छ ।

    तनहुँको तुरतुरे हुँदै गोरखाको पालुङटारबाट सिरानडाँडासम्मै सडक कालोपत्र छ । सडकको सहज पहुँचताले पनि यस ठाउँमा आन्तरिक पर्यटक बढेका हुन् । गर्मी मौसममा समेत यस ठाउँमा शितल हुने बताइन्छ ।

    दमौलीबाट घुम्न पुगेका दिपक भट्टराईले यस ठाउँको सुन्दरताले लोभ्याएको बताए । उनले भने, “सिरानडाँडासम्मै सडक कालोपत्र रहेछ, जसले गर्दा पनि यस ठाउँमा पुग्न सहज भयो । यहाँबाट देखिने दृश्यले एकपटक पुगेकालाई पुनः पुग्न मन लाग्ने रहेछ ।”

    आन्तरिक पर्यटक कृष्ण खनालले पहिलो पटक यस ठाउँमा पुग्दा आनन्दित महशुस भएको बताए । उनले भने, “यहाँबाट देखिने हिमाल, सूर्योदय र सूर्यास्तको दृश्यले आकर्षण थपेको महशुस भयो ।”