दमौली । कात्तिक शुक्ल पूर्णिमाको अवसरमा सोमबार नेवार समुदायले घरघरमा पिँडालु र सख्खरखण्ड उसिनेर खाँदै ‘सकिमना पुन्ही’ अर्थात् पिँडालु उसिन्ने पूर्णिमा मनाएका छन् ।
यो पुन्ही नेवार समुदायका भजन खलः, दाफा भजन खलःहरूले पर्वको रूपमा मनाउने गर्दछन् । कोजाग्रत पूर्णिमाको दिन सुरु गरिएको एक महिने रात्रिकालीन भजनकीर्तनलाई समापन गर्ने दिनको रूपमा आज पिँडालु उसिनेर खाने र नसाः (मकै, भटमास, गहुँ र ताय) बाट भगवानका आकृति बनाइ त्यसलाई प्रसादको रुपमा बाँड्ने प्रचलन रहेको छ ।
यस दिन नेवार समुदायमा आ–आफ्नो टोलमा रहेका दाफा भजन खलःले नसाःबाट मठमन्दिर तथा भगवानको आकृति बनाउँछन् । आकृति बनाउँदा गहुँ बिछ्याएर ताय (धानको बाला) र कालो भटमासले भगवानको स्वरूप बनाइने बताइन्छ।
कोजाग्रत पूर्णिमाको दिनदेखि दैनिकरूपमा हुने भजनकीर्तन आज समापन हुने भएकाले नेवार समुदायका प्रत्येक घरमा एक/एकजना व्रत बसी विभिन्न ठाउँका नारायण र महादेव मन्दिरमा गई पूजा गर्दछन् ।
व्यास-३ पराशर टोल निवासी सरिता श्रेष्ठका अनुसार प्रकृतिमैत्री पर्वहरु मध्ये सकिमना पुन्ही पर्व पनि एक हो । कृषि परम्परासँग प्रत्यक्ष जोडिएको यो चाड कार्तिक पूर्णिमाको दिन मनाइन्छ । यो चाड पनि लोपोन्मुख हुँदै गएकाले नयॉ पुस्तालाई पनि सिकाउनुपर्ने आवश्यकता रहेको उनले बताइन् ।