दमाैली । तनहुँको भिमाद नगरपालिका–६ मा आज सम्पन्न खेलमा भिमाद अर्ना कपको उपाधि पोखराको एलजी एशोसिएसनले जितेको छ । आयोजक भिमाद युवा क्लब (रातो) लाई पराजित गर्दै एलजीले उपाधि हात पारेको हो । फाइनल खेलको निर्धारित समयमा दुवै टोली गोल गर्नबाट वञ्चित भए । अतिरिक्त समयमा पनि गोल हुन पाएन र टुङ्गो ट्राइबेकरबाट लिनुपरेको थियो ।
ट्राइबेकरमा एलजीले भिमादलाई ४–२ गोलअन्तरले पराजित गरेको हो । एलजी एशोसिएसन तनहुँ ११ लाई सेमिफाइनलमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । त्यस्तै आयोजक भीमाद युवा क्लबले सङ्गम एफसी क्लबलाई पराजित गर्दै फाइनल पुगेको थियो ।
उपाधिसँगै एलजीले रु दुई लाख २२ हजार दुई सय २२ र उपविजेताले रु एक लाख एक हजार एक सय ११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । हरिबोधनी एकादशीको अवसर पारेर सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।
विजेतालाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जीतप्रकाश आलेले पुरस्कार वितरण गरे। सो अवसरमा मन्त्री आलेले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
खेलमा युवाको आकर्षण बढाउन क्लवले प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष ज्ञानबहादुर थापाले बताए।