शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो

    खबरपुञ्ज संवाददाता

    २५ मंसिर २०८०, सोमबार

    दमौली । बाला चतुर्दशीको अवसरमा तनहुँको प्रसिद्ध देवघाटधाममा शतबीज छर्न भक्तजनको घुइँचो लागेको छ । मङ्सिर कृष्णचतुर्दशीका दिन देवघाटमा आज शतबीज छर्न भक्तजनको घुइँचो लागेको हो । शतबीज छर्न आइतबारदेखि नै देवघाटधामा भक्तजनको भीड लागेको गाउँपालिकाका प्रवक्ता एवं देवघाट–५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए ।   

    उनले भने, “आज शतबीज छर्नका लागि हिजोेदेखि नै हजारौँ सङ्ख्यामा भक्तजन आइपुगेकाले यहाँको शान्ति सुरक्षाका लागि प्रबन्ध गरेका छौँ । ” शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मी थप गरिएको छ । उनले भने, “रातिको समयमा उज्ज्यालो बनाउन बत्तीको व्यवस्था र सवारी साधनको सहज व्यवस्थापनका लागि पार्किङको समेत व्यवस्था मिलाइएको छ ।”   
      
    प्रवक्ता कुँवरका अनुसार तनहुँका अतिरिक्त गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँ, झापा, सुनसरी, मोरङलगायत जिल्लाबाट भक्तजन आएका छन् । देवघाटमा छरिने शतबीजको ठूलो महिमा रहेकाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिस पितृहरूको उद्धारका लागि देवघाट आएका छन् ।   
      
    भक्तजनको सुरक्षाका लागि दमौली र चितवनबाट प्रहरीहरु थप गरिएको देवघाट इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए । त्रियोदशकीको साँझ देवघाटधाममा पितृजनको सम्झनामा रातभर जागाराम बसेर बत्ती बाल्ने र आज बाला चतुर्दशीका दिन शतबीज छर्ने गरिन्छ ।   
      
    शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवङ्गत भएका आफन्तका आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ ।शतबीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ । सोही कारण आफन्त नहुनेले जीवनकालमै शतबीज छर्ने चलन छ । बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।   
      
    हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रुपमा छर्ने गरिन्छ ।   
    –––