दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ निवासी सङ्गम मिश्र आज मृत अवस्थामा फेला परेका छन् । मणिपाल शिक्षण अस्पतालबाट गत मङ्सिर २५ गते बेपत्ता मिश्र सेती नदीको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा मृत फेला परेका हुन् ।
पोखरा महानगरपालिका–१६ दिपस्थितमा रहेको ड्याम खोली खोजतलास गर्ने क्रममा दिउँसो ३ः३० बजे पोखरा महानगरपालिका–३ नदीपुरमा मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय कास्की, बगर प्रहरी चौकी, सशस्त्र प्रहरी सहितको टोलीले उक्त शव निकाली पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको छ । घटना सम्बन्धमा अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
ज्वरो आई इमर्जेन्सी कक्षमा मङ्सिर २५ गते भर्ना भएका उनी सोही दिनबाट बेपत्ता भएका थिए । निजका बुबा हरिप्रसाद मिश्र औषधि लिन गएका बेला सङ्गम बेपत्ता भएका थिए । निजले लगाएको कपडा र परिचयपत्र भने झोलुङ्गे पुल नजिक फेला परेको थियो ।