पूर्ण स्मृति सम्मान तथा पुरस्कारबाट तीन जना सम्मानित हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पूर्ण स्मृति सम्मान तथा पुरस्कारबाट तीन जना सम्मानित हुने

    खबरपुञ्ज संवाददाता

    ३ पुष २०८०, बुधबार

    दमाैली । तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफएमले पूर्ण स्मृति शुक्लागण्डकी एफएम पुरस्कार तथा सम्मान जिल्लाका तीन जनालाई प्रदान गर्ने निर्णय गरेको छ । एफएमका तत्कालिन अध्यक्ष स्व. पूर्णकुमार श्रेष्ठको स्मृतिमा स्थापित उक्त पुरस्कारका लागि तीन जना व्यक्ति छनोट गरेको हो ।

    पत्रकारितातर्फ विकास खनाल, साहित्यतर्फ अर्जुन अधिकारी (सागर उदास) तथा समाजसेवातर्फ नन्द थापा छनोट भएका छन् ।

    तनहुँ जिल्लाभित्र क्रियाशिल रहेका मध्ये एक जना उत्कृष्ट पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिबाट उक्त सम्मान तथा पुरस्कृत व्यक्ति छनौट गरिएको एफएमका संस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिए।

    सम्मानित हुन लागेका पत्रकार खनाल एक दशक भन्दा अगाडिदेखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ । दमौलीबाट प्रकाशित हुने मादीसेती प्रवाह दैनिकबाट पत्रकारिता सुरुवात गरेका खनाल लामो समय स्तम्भकारको रूपमा कलम चलाउँथे । हाल उहाँ विएनविमिरर, सेतीमादी दैनिक र प्राइम टिभीमा कार्यरत छन् ।

    साहित्यतर्फ सम्मानित हुन लागेका सागर उदास विगत लामो समयदेखि साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका छन् । उनका थुप्रै कविता सङ्ग्रह र कृति प्रकाशित छन् ।

    समाजसेवातर्फ छनौट हुनुभएका शुक्लागण्डकी नगरपालिका–२ दगाम निवासी थापा विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध भई समाजसेवामा सक्रिय छन्। उनी एक व्यावसायिक मौरीपालक कृषक समेत हुन् ।

    विसं २०७९ को साहित्य तर्फ शेषमणी आचार्य, पत्रकारितातर्फ विश्वबन्धु भण्डारी र सामाजिक सेवातर्फ भक्त बहादुर रिमाल सम्मानित तथा पुरस्कृत भएका थिए ।

    स्व. श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले तीन विधामा पुरस्कार प्रदान गर्दै आइएको छ

    रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केहि रकम उनकाे परिवारबाट जम्मा गरी रु तीन लाखको अक्षयकोष स्थापना गरिएको छ । यही पुस ९ गते दुलेगौंडामा आयोजना हुने कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिने एफएमका अध्यक्ष ऋषेश्वर भुवाई ऋतुले जानकारी दिए ।

    रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका श्रेष्ठको विसं २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।

    सात वर्षअघि स्थापित रेडियोमा गीत सङ्गीतको अलवा हाल दैनिक सात पटक आफ्नै उत्पादनमा समाचार, स्थानीय सराकोरका विषयमा छलफल, महिला, बालबालिका, स्वास्थ्य, शिक्षा, व्यवसाय लक्षित कार्यक्रम सञ्चालन हुँदै आएको स्टेसन म्यानेजर राजन उपाध्यायले जानकारी दिए।