दमाैली । नेपाली काङ्ग्रेस तनहुँको भवन उद्घाटनको तयारी पूरा भएको छ । सोमबार उक्त भवनको नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । नेपाल प्रेस युनियन तनहुँले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचारप्रसार उपसमितिका संयोजक डम्बरबहादुर अधिकारीले कार्यक्रमको आवश्यक तयारी सकिएको जानकारी दिए ।
उनले भने, “सबै काम सम्पन्न भइसकेको छ । कार्यक्रममा पार्टी सभापति र केन्द्रीय नेताहरु, चन्दादाताहरुलाई निमन्त्रणा भइसकेको छ ।” सो कार्यक्रममा पार्टी कार्यालय निर्माणका लागि सहयोग गर्ने चन्दादाता एवं जग्गादाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । जिल्लाका दशवटै स्थानीय तहका गाउँ तथा नगर कार्यसमितिमार्फत् निमन्त्रणा पठाउने काम सकिएको अधिकारीले जानकारी दिए । शिलालेख भित्तामा टाँस्ने सकिएको र मञ्च निर्माणको काम सुरु भएको छ ।
आठ आना क्षेत्रफलमा फैलिएको उक्त भवन करिब रु दुई करोड लागतमा निर्माण गरिएको हो ।