त्रिशूलीमा खसेको गाडीमा भारतीय चालक मात्रै रहेको पुष्टि, अमला लिएर आएको थियो काठमाडौँ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    त्रिशूलीमा खसेको गाडीमा भारतीय चालक मात्रै रहेको पुष्टि, अमला लिएर आएको थियो काठमाडौँ

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    चितवन । मंगलबार बिहान त्रिशूली नदीमा खसेको भारतीय गाडीमा चालक मात्रै रहेको खुलेको छ।  भारतबाट भैरहवाको सुनौली नाकाहुँदै बोलेरोमा अमला लिएर पुस २९ गते काठमाडौँ आएका भारतीय सवारी चालक सोमबार फर्किएका थिए। 

    कालीमाटीस्थित काठमाडौँ सोलुशन ट्रेडर्समा अमला छाडेर उनी सोमबार त्यहाँबाट सुनौली नाकाहुँदै भारत जान बाटो लागेका थिए। काठमाडौं सोलुशन ट्रेडर्सले दिएको जानकारी अनुसार उक्त गाडीमा चालक मात्रै थिए। 

    चालक पनि भारतीय नागरिक नै रहेको उनले बताए। ‘यो नम्बरको गाडी त हाम्रोमा सामान लिएर आएको थियो। हिजो हाम्रोमा अमला छाडेर फर्किएको थियो। त्रिशुलीमा खसेको कुरा हामीलाई त थाहै थिएन। अब बुझ्छौं’, उनले भने। 

    दुर्घटनामा परेको गाडीमा चालक मात्रै भएको खुलेसँगै मानवीय क्षति नभएको बुझिएको छ। उक्त गाडीका चालक अर्को गाडीमा नारायणघाट तर्फ लागेको घटनास्थलबाट ट्यांकर चालकले प्रहरीलाई जानकारी दिएका थिए। प्रहरीले उनको खोजि गरिरहेको छ। 

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले गाडी चालक नारायणघाटतर्फ गएको सूचनापछि खोजि भइरहेको बताए। गाडी भने गोताखोरले फेला पारेको थियो। उक्त स्थानमा मानिस फेला नपरेपछि गोताखोर भने फर्किसकेको छ। 

    मंगलबार बिहान ४ः४० बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन नारायणगढ सडकखण्डको ३ नम्बर पुल नजिक त्रिशुली नदीमा पानीभित्र गाडीको लाइट बलेको जस्तो छ भन्दै अपुष्ट सूचना प्रहरीलाई आएको थियो। 

    सूचना पाएलगतै घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिन र जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी टोली खटि गएको थियो। प्रहरी पुगेर हेर्दा उक्त स्थानमा गाडी दुर्घटना भएको पुष्टि भएको थियो। 

    त्यसपछि कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोरलाई खबर गरिएको थियो। गोताखोरले खोजि गर्दा नदीभित्र बीआर ०९ जीसी १४३० भारतीय नम्बर प्लेट भएको सेतो रंगको सिंगलक्याप भएको बोलेरो फेला परेको थियो। 

    गोताखोरले बोलेरोलाई डोरीले बाँधेर राखेको छ। (नेपाल खबरबाट)