भानुगृह निर्माण गर्ने सहमति : माघभित्रै बोलपत्र आह्वान, फागुनदेखि निर्माण सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुगृह निर्माण गर्ने सहमति : माघभित्रै बोलपत्र आह्वान, फागुनदेखि निर्माण सुरु

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०८०, शनिबार

    दमौली । शिलान्यासको सात वर्षपछि आदिकवि भानुभक्तको घर निर्माणको तयारी थालिएको छ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको शिखरकटेरीमा भानुगृह निर्माण सुरु गर्ने सहमति जुटेको हो ।

    भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तको घर शिलान्यास भएपनि निर्माण कार्य अघि बढ्न सकेको थिएन । पश्चिमाञ्चल विकास मञ्चको लगानीमा भानुगृह निर्माणको तयारी थालिएको हो ।

    मञ्चका पदाधिकारी तथा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका पदाधिकारीबीच बुधबार सम्पन्न संयुक्त बैठकले फागुनदेखि निर्माण कार्य अगाडी बढाउने सहमति गरेको छ । त्यसका लागि माघ महिनाभित्रै बोलपत्र आह्वान गरिनने विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए ।

    उनले भने, “सात वर्ष पहिला शिलान्यास भएर काम अघि बढ्न सकेको थिएन । अब भानुगृह निर्माण गर्नेमा सहमति जुटेको छ ।” भानुगृहको अनुमानित लागत रु एक करोड दश लाख रहेको छ । घरको डिजाइन थोरै परिवर्तन गर्न लागिएकाले बजेट तलमाथि हुन सक्ने आंकलन गरिएको उनको भनाइ छ ।

    विकास मञ्चले आफ्नै लगानीमा भानुगृह निर्माण गर्ने अध्यक्ष मदनकुमार महतले जानकारी दिए । मञ्चले भानुगृह निर्माणका लागि रामकाजी कोनेको संयोजकत्वमा निर्माण समिति गठन गरेको छ ।

    विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेको थियो । विकास मञ्चले काममा ढिलाइ गरेपछि विकास समितिले आफ्नै सक्रियतामा घर निर्माण गर्ने तयारी थालेको थियो । तर विकास मञ्चले नै घर निर्माण गर्ने भएपछि समितिको तर्फबाट आवश्यक सहयोग रहने रानाभाटले बताए ।

    विकास समितिले शिखरकटेरीमा तारबार र सिसी क्यामरा समेत जडान गर्दैछ । यही ठाउँमा रामायण भवन निर्माण भइसकेको छ । जङ्गलको बीचमा भएकाले रामायण भवन संरक्षणविहिन अवस्थामा पुगेको छ । रानाभाटले भने, “भानुगृहको काम सुरु भएपछि यस ठाउँको थप विकास हुनेमा आशावादी छौ, पानी र बत्तीको सुविधा पुगिसकेको छ ।”

    यसअगाडी कच्ची बाटो, पानी र बत्तीको समस्या लगायतका कारणबाट भानुगृहको काम अगाडी बढ्न सकेको थिएन । भानुभक्तको घर पुनर्निर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । रानाभाटले भने, “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृहजिल्लामै भानुभक्त उपेक्षित भयो की भन्ने भान हामीलाई पनि हुन्छ । घर पुनर्निर्माण गर्न सकिए यहाँ धेरैको आगमन हुने विश्वास गरेका छौ ।”

    विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु एक लाखमा पुनर्निर्माण गरेका थिए । जङ्गलबीचको खरको छानाको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो जसमा करिब रु एक लाख २७ हजार रुपैयाँको क्षति भएको थियो ।

    भानु नगरपालिका–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त बाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् ।