मुग्लिन पोखरा सडक : १९.५ किलोमिटर खण्ड कालोपत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिन पोखरा सडक : १९.५ किलोमिटर खण्ड कालोपत्र

    खबरपुञ्ज संवाददाता

    ५ माघ २०८०, शनिबार

    दमाैली । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँमा १९.५ किलोमिटर सडकखण्ड कालोपत्र भएको छ । तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९.५ किलोमिटर सडकखण्ड कालोपत्र सकिएको हो ।

    मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्र सकिएको जानकारी दिए। त्यसमध्ये ७.२ किलोमिटर खण्डमा दुईतर्फी नै कालोपत्र सकिएको छ ।

    उनले भने, “सबैगरी १९.५ किलोमिटर कालोपत्र भएको छ । कालोपत्रेमध्ये ७.२ किलोमिटरमा भने दुईतर्फी नै कालोपत्र सकिएको छ । हाल बरादीदेखि सत्रसय जोड्ने खण्डमा कालोपत्रको काम भइरहेको छ ।” त्यसपश्चात् बरादीदेखि आँबुखैरेनी गाउँपालिकाचोकसम्म दुईतर्फी सडक कालोपत्रको काम हुनेछ ।

    पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडी बढेपछि यात्रामा सहजता आएको छ ।

    पूर्वी खण्ड अन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम समेत सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि रु एक २१ करोड लागतमा आर्क डिजाइनमा पुल बन्दैछ ।

    पुल निर्माणका लागि आवश्यक काम भइरहेको इन्जिनियर पाण्डेले जानकारी दिए । उनका अनुसार पुलका लागि दुई सय १० पाइलमध्ये ५२ वटा पाइलको काम सकिएको छ । उनले दुई वटा फाउण्डेशनको पाइलको काम सकिएको जानकारी दिए। हाल भइरहेको पुलभन्दा केही माथि नयाँ पुल निर्माण हुँदैछ । पुल निर्माणको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ ।

    मुग्लिन पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

    विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

    पश्चिम खण्ड अन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनिया कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।

    चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४२ मिटर चौडाईको सडक बन्नेछ । डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४२ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ ।