दमौली । तनहुँको व्यास नगरपालिकामा पुन: मतगणनाको माग सहित परेको मुद्धामा मंगलबार सुनुवाई भइरहेको छ । मेयरका उम्मेदवार दीपकराज जोशीले मतगणना बदर गरी दोहोर्याइ मतगणना गरी पाउँ भनी दर्ता गरेको मुद्धामा उच्च अदालतमा सुनुवाई भइरहेको हो ।
उच्च अदालतका न्यायाधीश मिलन राई र धनसिंह महराको संयुक्त इजलासमा सुनुवाई जारी छ ।
जोशीले निर्वाचन आयोग समेत पॉच जनालाई विपक्षी बनाई २०७९ जेठ १२ गते रिट दर्ता गरेका थिए ।
अदालतले सोही जेठ १३ गते प्रतिवादीहरुसँग कारण मागेको थियो । रिट निवेदकको माग बमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो कारण पेश गर्न आदेश दिएको थियो ।
व्यास नगरपालिकाको मेयरमा जोशी नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठनाथ न्यौपानेसँग २५२ मतले पराजित भएका थिए । न्यौपानेको १२ हजार ७८ मत आउँदा जोशीको ११ हजार ८२६ मत आएको थियो ।