दमौली । व्यास नगरपालिकाले सूचना प्रविधि अधिकृतका लागि लिएको परीक्षाको दुई दिन अगाडी नै नतिजा प्रकाशन भएपनि बुधबार मात्रै सार्वजनिक गरेको छ ।
सोमबार अन्तरवार्ता सकिएपछि नतिजा प्रकाशन भएपनि सार्वजनिक रुपमा बुधबार मात्रै जानकारी गराइएको हो ।
यसअघि गत माघ ७ गते लिखित परीक्षा लिइएको थियो । माघ १४ गते प्रयोगात्मक र १५ गते अन्तरवार्ता लिएर अन्तिम नतिजा प्रकाशित गरिएको थियो । तर नतिजा प्रकाशन भएपनि नगरपालिकाले आफ्नो वेवसाइट र फेसबुक पेजबाट भने सार्वजनिक गरेको थिएन ।
लिखित नतिजामा व्यास-१३ का गौरव पन्थ, व्यास-३ का सरला पन्थ र व्यास-४ का सुबोध घिमिरे उत्तीर्ण भएका थिए । लिखित, प्रयोगात्मक र अन्तरवार्ता समेत गरी व्यास-४ का घिमिरे सफल उम्मेदवारका रुपमा छनोट भएका छन् । उनी व्यास नगरपालिकामै कार्यरत कृष्णराज घिमिरेका छोरा हुन् ।
व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले सहिद दिवस र अल्ट्रा म्याराथनका कारण सार्वजनिक गर्न ढिलाई भएको बताए ।
सूचना प्रविधि अधिकृत विेशाल पण्डितले राजिनामा दिएपछि नगरपालिकाले विज्ञापन खुलाएको थियो ।