मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा कालाेपत्र काम अगाडी बढ्याे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा कालाेपत्र काम अगाडी बढ्याे

    खबरपुञ्ज संवाददाता

    २८ माघ २०८०, आईतवार

    दमाैली । मुग्लिन पोखरा सडक योजना अन्तर्गत पश्चिम खण्डमा कामले गति लिएपछि स्थानीयवासी खुसी भएका छन् । तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा काममा प्रगति नभएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुई पटक स्थलगत निरीक्षण गरेका थिए । काममा प्रगति नभएपछि ठेक्का तोड्नेसम्मको तयारीपछि निर्माण व्यवसायीले कामलाई तीव्रता दिएको हो ।

    उक्त खण्डमा कामले गति लिएपछि स्थानीयवासी आशावादी बनेका छन् । धुलो र हिलाम्य सडकले यात्रा गर्न कष्टकर भइरहेको सन्दर्भमा कालोपत्रको काम अगाडी बढेपछि सहज हुने आशा पलाएको स्थानीय विमल प्रधानले बताए ।

    धुलो र हिलालेले आजित भएका स्थानीयवासी कालोपत्र सुरु भएपछि केही राहत भएको म्याग्दे गाउँपालिका–३ धयरेका स्थानीयवासी अनिल क्षेत्रीले बताए।

    पश्चिम खण्डमा हालसम्म एक दशमलव ५ किमि खण्ड कालोपत्र भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुनेदेखि पोखरासम्मको खण्डमा हालसम्म काम सुरु भएको दश दिनमा डेड किमि कालोपत्र भएको हो ।

    पश्चिम खण्डमा गत माघ १२ गतेदेखि पहिलो पटक कालोपत्रको काम सुरु भएको थियो । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले तीन ठाउँमा कालोपत्रको काम गरिरहेको आयोजनाका आवासीय इन्जिनियर हेम श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार म्याग्दे गाउँपालिकास्थित जामुने, शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारा र हलेदीमा कालोपत्र भएको छ । सोही ठाउँँमा थप कालोपत्रका लागि काम भइरहेको उनले बताए । उनले भने “हाल एकतर्फी कालोपत्रका लागि काम अगाडी बढेको छ । काम रोकिदैन निरन्तर हुन्छ ।”

    मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखरा अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र सुरु गरेको थियो । पश्चिम खण्डका इन्जिनियर एवं सूचना अधिकारी नारायण पौडेलका अनुसार फेबु्रअरीको अन्तिमसम्म एकतर्फी रुपमा पाँच किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य छ ।

    पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुने र एकतर्फीको काम अगाडी बढेपछि दुईतर्फी नै कालोपत्र गरिने पौडेलले जानकारी दिनुभयो । सडक आयोजनाले अस्फाल्ट प्रविधिबाट कालोपत्रको कामलाई अगाडी बढाएको हो । यो खण्डमा हालसम्म करिब १५ प्रतिशत प्रगति छ ।

    पश्चिम खण्ड अन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो ।

    पश्चिम खण्डमा हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ । यो खण्ड अन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ ।

    यता पूर्वी खण्डमा भने १९ दशमलव ५ किलोमिटर सडकखण्ड कालोपत्र भइसकेको छ । आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म उक्त दूरीमा कालोपत्र सकिएको हो । मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्र सकिएको जानकारी दिनुभयो । त्यसमध्ये ७.२ किलोमिटर खण्डमा दुईतर्फी नै कालोपत्र सकिएको छ ।

    पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडी बढेपछि यात्रामा सहजता आएको छ ।

    पूर्वी खण्ड अन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम समेत सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि रु एक २१ करोड लागतमा आर्क डिजाइनमा पुल बन्दैछ ।

    पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।