काठमाडौ । सरकारले टिकटकमा प्रतिबन्ध लगाएको तीन महिना बितिसक्दा पनि कतिपय इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायक कम्पनीहरूको नेटकवर्कबाट टिकटक चलिरहको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । त्यस्ता सेवा प्रदायकलाई टिकटकको पहुँचमा रोक लगाउन पटक-पटक निर्देशन दिएको भए पनि अटेर गरेकाले कारबाहीको प्रक्रिया अघि बढाएको प्राधिकरणले जानकारी दिएको छ ।
‘केही सेवा प्रदायक कम्पनीहरूको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको/चलिरहेको पाइएकाले स्पष्टिकरण सोधिएको थियो,’ प्राधिकरणको सूचनामा भनिएको छ, ‘दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही प्रक्रिया अघि बढिसकेको छ ।’ प्राधिकरणले अन्य सेवा प्रदायक कम्पनीहरूलाई समेत टिकटक प्रतिबन्धसम्बन्धी निर्देशन पालना गर्न पुन:स्मरण गराएको छ । त्यति मात्र नभइ टिकटक चलिरहेको पाइएमा प्राधिकरणलाई जानकारी गराउन प्राधिरकणले इन्टरनेट प्रयोगकर्तालाई अनुरोध गरेको छ ।